राष्ट्रपति नभए नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने

MNN REPORTER Report | 11 Jul 2008 | Views: 879

काठमाडौं,२७ असार । अन्तरिम संविधानको पाँचौ संशोधनले बिधायिका संसदमा प्रवेश पाएपछि राजनीतिक दलहरु शक्ति बाँडफाँडको तयारीमा लागिरहेका बेला माओवादी सचिवालयका एक शक्तिशाली सदस्य नेत्रबिक्रम चन्द बिप्लवले नेपाली कांग्रेससँग आफ्नो दलको कुनै हालतमा तालमेल नहुने बताएका छन् ।

बिप्लवले आफ्नो दलले शक्ति बाँडफाँडका लागि बाम मोर्चा बनाउन लागेको जानकारी दिए । 'प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै राष्ट्रपति बनाउन हाम्रो दल सहमत भएको चर्चा बिल्कुलै असत्य हो' बिप्लवले स्पष्ट पारे ।
माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणको नेतृत्वमा रहेको माओवादीभित्रको कडा धारको प्रवक्ता मानिने बिप्लवले आफ्नो दल र एमालेबीच राजनीतिक समझदारी निर्माणका लागि प्रयास भइरहेको पनि जानकारी दिए ।

माधव नेपाललाई राष्ट्रपति मान्नुहुन्छ त ? भन्ने प्रश्नमा नेता बिप्लवले भने, 'मान्न पनि सकिन्छ तर, एमालेसँग राजनीतिक समझदारी निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।' शक्ति बाँडफाँडमा देखिएको जटिलता फुकाउन असार २६ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरेका थिए । भेटमा माओवादी नेताद्वयले कोइरालासँग राष्ट्रपतिका लागि आफूबाहेक अन्यको नाम सिफारिस गर्न अनुरोध गरेको श्रोतले बताएको छ । नेपाली कांग्रेस श्रोतले भने कोइरालालाई राष्ट्रपति बनाउन माओवादी तयार नभए नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने मनस्थितिमा रहेको उल्लेख गर्‍यो ।

  • Related News
  • Tag Clouds

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN