राष्ट्रपति र संविधानसभा अध्यक्ष पद क-कसलाई ?
MNN REPORTER Report | 11 Jul 2008 | Views: 565
काठमाडौं,२८ असार । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र संविधानसभाका अध्यक्ष पदलाई शक्तिबांडफांडभित्र राख्न नहुने बताएका छन् । असार २७ मा रिपोर्र्टर्स क्लब नेपालद्वारा होटल मल्लमा आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले सरकार गठनमा मात्र शक्तिबांडफांडको सिद्धान्त लागू हुने बताए ।
'सेरेमोनियल राष्ट्रपति र सभाध्यक्षमा सबैलाई मान्य हुने व्यक्तित्व चयन हुनुपर्छ ,' प्रचण्डले भने,'सबैलाई मान्य हुनेगरी चयन गर्नुपर्ने पदलाई शक्तिबांडफांडको विषय बनाइनुहुन्न ।' आफूहरुले सहमतिबाटै उत्कृष्ट व्यक्तित्वलाई राष्ट्रपति र सभाध्यक्ष चयन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको बताए । सरकार गठनका बेला कुन दलले कुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भन्नेबारे छलफल चल्ने बताए । सहमतिबाटै सरकारको शक्तिबांडफांड गर्न आफू तयार रहेको उनको भनाई थियो ।
साक्षात्कारमा उनले मधेशवादी दलको अवरोधका कारण उत्पन्न डेडलक तोडिइसकको बताए । भोलि बेलुकाभित्र कुन न कुनै सहमतिमा पुगिने र नयां सरकार निर्माण हुने उनको भनाई थियो । उनले भने,'कम्तिमा पर्सिभित्र सहमतिमा पुगी नयां सरकारको गठन हुनेछ ।' सहमतिबाटै नयां सरकार गठन गरिने बताउदै नेपाली कांग्रेस, नेकपा एमाले, मधेशवादी दललगायतलाई समेत साथ लिएर जाने बताए । उनले भने,'नयां संविधान नबन्दासम्म दलहरुबीच सहमति र सहकार्य आवश्यक छ । नयां परिवेशमा सहमतिको दायरालाई फराकिलो बनाएर अघि बढ्नेछौं ।' प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि सहमति र सहकार्यबाटै अघि बढ्नुपर्ने भन्नुभएकाले आफू निकै आशावादी भएको बताए । कोइरालाले आफूसंग कुरा गर्दा राष्ट्रपति बन्ने नबताएको उल्लेख गर्दै भने,'मसंग गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति बन्छु भन्नुभएको छैन तथापि अप्रत्यक्ष रुपमा त्यसका संकेतहरु आएका छन् ।'
राष्ट्रियता र स्वतन्त्रता रक्षा गर्नुपर्ने गम्भीर चुनौती आएको उनको भनाई थियो । पछिल्लोपटक मधेशवादी दलका नेताहरुको अभिव्यक्तिले आफूलाई गम्भीर बनाएको बताउदै भने,'प्रतिक्रियावादी प्रतिगामी तत्वहरुले साम्प्रादायिक सद्भावमा खलल पुर्याएर राष्ट्रियता र स्वतन्त्रतामाथि चुनौती दिइरहेका छन् ।' आफूहरुले उठाएको जातीय र क्षेत्रीय अधिकारलाई मधेश र जनजातिका नाममा साम्प्रादायिक स्वरुप दिने षड्यन्त्र भएको बताए । विगतमा अमेरिकी राजदूत जेम्स एफ मोरियाटीको भूमिका पनि नेपालका राष्ट्रियता र स्वतन्त्रताविरुद्ध लक्षित रहेको आरोप लगाए । पछिल्लोपटक मधेशवादीको अवरोधसंगै उठेको बहसलाई सकारात्मक रुपमा लिएको बताउदै भने,'पछिल्लो १४ दिनमा भएका बहसले नेपाली जनतामो राष्ट्रियता र स्वतन्त्रताको भावनालाई उत्प्रेरित गरेको छ ।'
नेकपा एमालेका महासचिव झलनाथ खनालले आफूहरुले राष्ट्रपति पाउनुपर्ने दाबी गरे । एमालेले शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण राष्ट्रपति पाउनुपर्ने तर्क गरे । हारेको मान्छेलाई किन राष्ट्रपतिका रुमपा प्रस्तुत गर्दैहुनुहुन्छ भन्ने प्रश्नमा उनले भने,'एकपटक चुनाव हारेको मान्छेले अर्को चुनावमा भाग लिन पाउदैन र -' राष्ट्रपतिका रुपमा एमालेले कसलाई प्रस्तुत गर्ने भन्नेबारे टुंगो लगाउनै बांकी रहेको बताए । विगतमा माओवादीसंग शक्तिबांडफांडमा केही सहमति भएपनि पछिल्लो परिस्थितिले थप छलफलको अवस्था सृजना गरेको बताए । नेपालको राजनीतिमा आउदो चार दिन निकै महत्पूण् हुने बताए । शक्तिबांडफांड र भावी राजनीतिक मार्गचित्र तयार गर्न आफूहरु गृहकार्यमा लागिसकेको खुलासा गरे । नेपाली जनताले सहमति र सहकार्यबाट अगाडि बढ्न जनादेश दिएकाले संयुक्त सरकार र शक्तिबांडफांडमा सहमति बनाएर जानुको विकल्प नभएको बताए । एमाले नयां सरकारमा सहभागी हुन्छ भन्ने प्रश्नमा उनले भने,'सहमतिको मार्गचित्र तयार भएपछि निर्णयमा पुग्छौं ।' शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि समझदारीका साथ शक्तिबांडफांड गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका उपसभापति एवं शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेलले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने दाबी गरे । उनले भने,'माओवादीले सरकारको नेतृत्व गर्छर्ुुनेपछि दोस्रो ठूलो पद रोज्ने पालो हाम्रो हो । राष्ट्रपति हामीले पाउनुपर्छ ।' सहमति र सहकार्यबाट जाने जनादेश भएकाले शक्तिबांडफांडलाई व्यवहारिक टुंगोमा पुर्याउन आग्रह गरे । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनुपर्छ भन्न खोज्नुभएको हो भन्ने प्रश्नमा उनको जवाफ थियो,'प्रधानमन्त्रीज्यूले म राष्ट्रपति बन्नुपर्छ भनेर कहिल्यै कसैसंग भन्नुभएको छैन । तर शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्नुभएका र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउनुभएकाले उहां राष्ट्रपतिका लागि योग्य हुनुहुन्छ भनेका हौं ।' जनाधिकारलाई केन्द्रमा राखेर सहमति, सहकार्य र मेलमिलापमा जानुको विकल्प नभएको बताए ।
सहमतिको बाटो तय भएपछि कांग्रेसले सरकारमा जाने नजाने नीति तय गर्ने बताए । आफूहरु जहां रहेरपनि संविधान निर्माणमा जिम्मेवारीपूर्वक लाग्ने बताए । पछिल्लोपटक मधेशवादी दलका जिम्मेवार नेताहरुको अभिव्यक्तिले आफूहरुलाई गम्भीर बनाएको बताए । संविधानसभाले मुलुकलाई संघात्मक बनाउने भनिसक्दा अनावश्यक दबाब खडा गरिएको बताए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागिजनादेशबमोजिम संविधानसभा लेखिनुपर्ने बताउदै भने,'सात दलको एकतालाई निरन्तरता दिदै सहमति र सहकार्यको दायरालाई फराकिलो बनाउन अन्य दललाई पनि समेटेर जानुपर्छ ।'
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

