प्रहरी गणमा सशस्त्र बिद्रोह

MNN REPORTER Report | 13 Jul 2008 | Views: 589

काठमाडौं,२९ असार । नेपालगंज पुष्पलाल चौकमा रहेको जनपद प्रहरीको क्षेत्रीय दंगा नियन्त्रण गणमा प्रहरीबाट सशस्त्र बिद्रोह भएको छ । असार २८ गते दिउँसो साढे १२ बजे गणभित्र फायर चलेपछि बिद्रोह सुरु भएको संकेत प्राप्त भएको थियो ।

सशस्त्र प्रहरीका तल्लो दर्जाका प्रहरीले ब्यारेक कब्जामा लिएर आन्दोलन गरेको घटनाको केही साता नबित्दै जनपद प्रहरीका तल्लो दर्जाले नेपालगंजमा त्यही शैली अपनाएका छन् । दंगा नियन्त्रण प्रहरी गणका प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक सहित सातजना उनीहरुकै नियन्त्रणमा छन् ।

यसअघि, सशस्त्र प्रहरीको समशेरगंजस्थित बागेश्वरी गणमा अधिकृतबिरुद्ध प्रहरी बिद्रोह भएको थियो । जनपद प्रहरीमा भने यो पहिलो बिद्रोह हो । घटनास्थल बाहिर रहेका पत्रकार रामेश्वर बोहोराका अनुसार, गणभित्र फायर चलेको लगत्तै केही प्रहरीले मूल ढोकामा आएर एस एल आरबाट ९ गोली फायर गरे । अहिले गणको मूल ढोका बाहिर संकटकालको बेला जस्तो तारबार लगाइएको छ तथा प्रहरीहरु युद्धकालिन पोजिशनमा देखिन्छन् ।

गणको प्रमुख उपरिक्षक भए पनि आज शनिवार जिल्ला र अञ्चलका सबै प्रहरी प्रमुख त्यहाँ भेला भएका थिए । अहिले त्यहाँ वरिष्ठ प्रहरी उपरिक्षक घनश्याम खत्रीसहित जिल्ला र अञ्चलका सबै अधिकृतहरु बन्दी बनेको अनुमान गरिएको छ । तर कुनै आधिकारिक खबर भने भित्रबाट प्राप्त भएको छैन । नायब महानिरिक्षक भरत जिसी केही घण्टा अघिसम्म त्यहीँ भए पनि उनी केहीबेर अघि त्यहाँबाट निस्किएको श्रोतले बतायो ।

आन्दोलनमा उत्रिएका प्रहरीहरुले आफूहरुमाथि दुर्ब्यबहार हुने गरेको, भेदभाव हुने गरेको र खाना गुणस्तरीय नभएकाले त्यस्तो कदम चाल्नु परेको बताएका छन् । गृह मन्त्रालयसम्म यसको जानकारी पुगेपनि शनिबवार अबेरसम्म गण र अधिकृतहरुलाई नियन्त्रण मुक्त गर्ने कुनै प्रयास सार्वजनिक भएको थिएन ।
यसअघि आन्दोलनमा उत्रिएका सशस्त्र प्रहरीहरुलाई धाप मारेर फर्किएका गृह मन्त्रालयका अधिकारीहरुले यस पटक नेपालगन्ज प्रकरणको हल कसरी निकाल्ने हुन सबैले उत्सुकतापूर्वक हेरिरहेका छन् ।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN