माओवादी र एमाले नेतृत्वबीच छलफल शुरु
MNN REPORTER Report | 14 Jul 2008 | Views: 774
काठमाडौं,३० असार । संविधानसभा बैठकले पांचौं संशोधन विधयेक पारित गरेपछि राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख पद चयनको ढोका खुलेको छ । सरकार गठन अघि राष्ट्रपति चयन अनिवार्य भएकाले माओवादी र एमाले नेतृत्वबीच छलफल शुरु भएको छ ।
राष्ट्रपतिमा सम्भावित नामबारे भएको कुराकानीमा एमालेले आफ्ना पूर्व महासचिव माधवकुमार नेपालको नाम प्रस्ताव गरेको स्रोतले बतायो । माओवादीले भने त्यसप्रति असहमति जनाएको बुझिएको छ । प्रचण्डले दलबाहेकका व्यक्तित्वलाई चयन गर्न जोड दिदै सभाध्यक्षमा एमालेलाई र्समर्थन गर्न सकिने बताएका थिए । एमालेले भने राष्ट्रपतिको अडान छाडेन । निर्णयमा पुग्न नसकेपछि थप छलफल गरी दुइ दिनभित्र राष्ट्रपति चयन गर्ने टुंगोमा पुगेका छन् ।
माओवादीले रामराजाप्रसाद सिंहका अलावा नागरिक समाजका पदमरत्न तुलाधर, एमाले नेतृ साहना प्रधानको नाम अघि सार्दै आएको छ । तथापि उसले शक्तिबांडफांडका क्रममा प्रमुख दलका प्रस्तावित नामलाई र्समर्थन गर्नसक्ने अवस्था सृजना भएको छ । माओवादी सचिवालय बैठकले शक्तिबांडफांडको छलफल र निर्णयाधिकार प्रचण्डलाई दिएपछि सहमति बनाउन जिम्मेवार रुपमा प्रस्तुत भएको विश्लेषण गरिदैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम अघि सार्दै आएको छ ।
प्रत्यक्ष रुपमा नाम प्रस्ताव नगरेपछि माओवादी नेतृत्वसंग कांग्रेस नेताहरुले छलफल बढाइसकेका छन् । कोइरालाको नामलाई कुनै हालतमा र्समर्थन नगर्ने माओवादी अडान कायमै छ । यद्यपि शक्तिबांडफांडको सिद्धान्तअनुसार माओवादीले सरकारको नेतृत्व गरेपछि आफूहरुले राष्ट्रपति पाउनुपर्ने कांग्रेस नेताहरुको दाबी छ । एमालेले पनि राष्ट्रपतिकै दाबी गरेकाले तत्काल टुंगो लाग्नेमा कमै विश्वास गर्न सकिन्छ । कांग्रेस र एमालेको राष्ट्रपति दाबीका क्रममा माओवादीले ठूला दल बाहेकबाट राष्ट्रपति बनाउने रणनीति बनाएको छ । उसले मधेशवादी दलको र्समर्थन लिन राष्ट्रपति चयन प्रक्रिया गरेको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

