२९ औं संस्करणमा आइपुग्दा पनि ओलम्पिकमा नेपालको कमजोर प्रदर्शन

MNN REPORTER Report | 14 Aug 2008 | Views: 93

काठमाडौं, ३१ साउन । ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको चर्चा भन्दापनि ओलम्पिकमा सहभागी हुने गैर अफिसियल र अन्य पदाधिकारीको चर्चामा सिमित हुने अवस्था देखिएको छ नेपालका लागि बेइजिङ ओलम्पिक २००८। यस भन्दा अघिल्ला संस्करणका ओलम्पिकमा पनि सहभागितामा मात्र सिमित नेपालको यात्रा २९ औं संस्करणमा आइपुग्दा पनि उहि हविगत हुने देखिएको छ ।

खेलाडीहरूलाई आवश्यक पूर्वाधारको कमी र ओलम्पिक आउने बेलामा मात्र प्रशिक्षण गराउने राखेपको नाटकीय पारले गर्दा नेपालले ओलम्पिकमा कुनै किसिमको उपलब्धी गर्न सकेको छैन । ओलम्पिक होस् वा अन्य ठुला संस्करणका खेल होस् खेलको स्तरलाई उकास्ने भन्दा पनि अन्य खेलकुदको नेतृत्व गर्ने पदाधिकारीहरुले मनोरञ्जनका लागि खेल क्षेत्रलाई उपयोग गर्दै आएको र ति संस्करणमा योग्य खेलाडीको छनौट भन्दा आफ्ना नजिकका खेलाडीहरूलाई सहभागी गराउने प्रवृत्तिले नेपाली खेलकुद इतिहासको गति एक कदम अगाडि बढ्नु भन्दा पनि झन् उधोगति लिदै गइरहेको छ ।

यस पटकको ओलम्पिकमा सहभागी गराइएका खेलाडीहरूमा तेक्वान्दो खेलाडी दिपक बिष्ट बाहेक अन्य खेलाडीहरू सहभागीताको लागि मात्र बेइजिङ ओलम्पिकमा पठाइएका छन् । सहभागी खेलाडीहरूले आफ्नो परिक्षाको सुरुवात पनि गरिसकेका छन् । बेइजिङ ओलम्पिक परिक्षाको सुरुवात नेपाली सुटिङकी खेलाडी फुलमाया क्याप्छ्याकीबाट सुरुवात भएको थियो। उनले जम्मा ३ सय ८० स्कोरमा सिमित भई कमजोर प्रदर्शन गरिन् र प्रवेश परिक्षामा नै असफल भइन् ।

त्यस्तै भारत्तोलनका खेलाडी कमल अधिकारी पनि आफ्नो खेलको पहिलो चरणबाटै बाहिरिन पुगे। तर कमलले भने आफ्नो लक्ष्य अनुसारको सफलता भने हासिल गरेका छन्। गत सोमबार ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका कमलले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कुल दुई सय ६८ केजी भार उचाल्दै नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन्। कमलले स्न्याच, क्लिन एन्ड जर्कतर्फ तथा कुल गरी तीनबटै विधामा विगतको भन्दा बढी तौल उचालेका थिए। उनले स्न्याचतर्फ १ सय १४ केजी तथा क्लिन एन्ड जर्कतर्फ १ सय ५४ केजी तौल उचालेका थिए ।

समग्रमा कमलले ओलम्पिकको कुनै पदक हासिल गर्न नसकेपनि उनको बेइजिङ ओलम्पिक यात्रा केहिहद सम्म सफल नै भएको छ। उनी बेइजिङ ओलम्पिकका लागि सबै भन्दा ढिलो वाइल्ड कार्ड पाउने खेलाडी हुन्।
यसैगरि बेइजिङ ओलम्पिकमा जुडो खेलको प्रतिनिधित्व गर्दै सहभागी हुन गएकी देवु थापा प्रारम्भिक चरणमा बाई पाएर सीधै प्रि–क्वाटरफाइनलमा प्रवेश पाएकी थिइन्। उनी ६३ केजी तौल–समूहमा चाइनिज ताइपेइकी प्रतिद्वन्द्वी वाङ चिन फाङसँग जम्मा २२ सेकेन्डमा नै पराजित भइन्। चाइनिज ताइपेइकी फाङले एक इप्पोनबाट एक अंक प्राप्त गर्दै नेपालकी देवुलाई सजिलै पराजित गरिन्। देवुले कुनै पनि अंक प्राप्त गर्न सकिनन् । उनको तौल समूहको स्वर्ण जापानकी आयुमी तानिमोतोले जितिन् ।

देवुले बेइजिङ जानु अघि आफ्नो अगाडी आएका जुनसुकै खालका प्रतिद्वन्द्वीलाई पाखा लगाउन सक्ने बाचा गरेकी थिइन् तर उनको त्यो बाचा नेपालका नेताहरूले जनतालाई चुनाव अघि दिने गरेको बाचा जस्तै भयो। यसैगरि हिजो बधबार सम्पन्न पौडी तर्फ पनि नेपालको तर्फबाट सहभागी प्रसिद्धजंग शाह पहिलो चरणबाटेै बाहिरिएका छन्। उनले राष्ट्रिय किर्तिमान समेत कायम गर्न सकेनन्। शाह अन्तराष्ट्रिय खेलकुदमा पहिलोपटक सहभागी भएका हुन्।

नेपालले बेइजिङ ओलम्पिकमा सहभागीता जनाएका खेल मध्ये सुटिङ, भारत्तोलन र जुडोको परिणाम आइसकेको छ। जुन परिणाम नेपालका लागि निराशाजनक छ। अब परिणाम आउन बाँकी रहेका खेलमा एथलेटिक्स (अर्जुन वस्नेत र चन्द्रकला थापा), पौडी (करिष्मा कार्की) र तेक्वान्दो (दीपक बिष्ट) छन्। बाँकी रहेका खेल मध्ये नेपालले पदकको आशा गरेको खेल तेक्वान्दो हो, जसमा नेपालका तेक्वान्दो स्टार दीपक बिष्टले सहभागीत जनाएका छन्। बेइजिङ ओलम्पिकमा सहभागीता जनाइरहेका नेपाली खेलाडीहरूमा तेक्वान्दो खेलाडी दीपक बिष्ट मात्र बेइजिङ ओलम्पिकको लागि छनौट चरण पार गरेर सहभागी भएका खेलाडी हुन्।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN