जनमुक्ति सेना र नेपाली सेना मिलाएर सेना समायोजन हुने
MNN REPORTER Report | 3 Sep 2008 | Views: 78
काठमाडौं, १८ भदौ । माओवादीको जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन पासाङले आफ्नो सेनालाई नेपाली सेनामा मिसाएर गरिने सेना समायोजन स्विकार नहुने बताएका छन् । राजधानीमा रिपोर्टस क्लबले आयोजना गरेको सेना समायोजन बिषयक अन्तक्रिर्या कार्यक्रममा बोल्दै पासाङले जनमुक्ति सेना र नेपाली सेनाका योग्यहरुलाई राखेर राष्ट्रिय सेना बनाए मात्र सेना समायोजन हुने उल्लेख गरे ।
पासाङले राष्ट्रिय सेनाको संख्या घटाएर ३० देखि ५० हजार बनाउनुपर्ने धारणा पनि राखे । कार्यक्रममा बोल्दै पासाङले नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्द कटवालले राजनीतिक कुराहरु बोलेर राजनीति गरिरहेको तथा उनले आफ्नो प्रवृति सच्याउनुपर्ने बताए । 'अहिले नै हामी उनलाई बर्खास्त गर्नुपर्छ भन्नेमा छैनौ, उनका आगामी क्रियाकलाप हेरेर निर्णय गरिनेछ' पासाङले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा अहिले पनि नेपाली सेना र जनमुक्ति सेनाले मिलेर गरिहेको उनको दावी थियो ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मुलुकमा दुई वटा सेना नरहेको तथा सेना समायोजन नहुने धारणा राखे । माओवादीको सेना भनेको उसको लडाकु मात्र हो, त्यो सेनामा समायोजन हुदैन' महतले भने । कानुन तथा संसदीय मन्त्रालयको नाम परिवर्तन गरेर तथा बजेट निर्माणमा असम्बन्धित र अघोषित मानिसहरुलाई संलग्न गराएर माओवादीले अधिनायकवादी चरित्र देखाएको पनि उनको भनाइ थियो ।
कार्यक्रमका अर्का वक्ता सेन्यविद इन्द्रजित राईले एउटा सेनाले अर्को सेनालाई होच्याएर सेना समायोजन नहुने धारणा राख्दै ६ महिनामा सेना समायोज हुनै नसक्ने धारणा राखे । सेन्यविद डा. दिपक भट्टले सेना समायोजन गर्दा नेपालले अरु मुलुकको नक्कल गर्न नहुने उल्लेख गरे ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

