कोसीनदीमा निःशुल्क मोटरबोट सञ्चालन गरिने
MNN REPORTER Report | 3 Sep 2008 | Views: 56
काठमाडौं, १८ भदौ कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ताले आम जनताको सुविधाका लागि सुनसरीको भन्टाबारीदेखि लौकहीसम्म आवत -जावतका लागि निःशुल्क मोटरबोट सञ्चालन गरिने बताउनुभएको छ ।
सुनसरीको पश्चिम कुसहास्थित कटानक्षेत्रको निरीक्षणपश्चात कोसी व्यारेजमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुप्ताले पाँच दिनभित्रै मोटर बोट तथा र्याफि्टङ बोट सञ्चालन गरिने जानकारी दिनुभयो ।
बाँध नबनेसम्म पूर्व–पश्चिम राजमार्ग सञ्चालन हुन नसक्ने बताउँदै मन्त्री गुप्ताले काठमाडौा–राजविराज–विराटनगर विमान सेवा सञ्चालनको प्रक्रिया सुरु भइसकेको बताउनुभयो । पूर्वमा सामान ढुवानीका लागि चतरामा मोटरफेरी चलाइने र सोको लागि एक महिना लाग्ने प्राविधिकहरुले बताएको पनि उहाँले जानकारी दिनुभयो । भारतीय बाटो प्रयोग गरी बिना रोकटोक सवारी साधन आवतजावत गराउने विषयमा भारत सरकारसँग छलफल भई यस विषयमा भारत सहमत भइसकेको उहाँले बताउनुभयो।
बाढीले भारतमा पनि अत्यधिक क्षति भएको र विराटनगर पुग्न भारतको फारविसगञ्जमा समेत बाटो बिगारेकोले यातायात सञ्चालनमा कठिनाइ भएको मन्त्री गुप्ताले बताउनुभयो।
मन्त्री गुप्ताले कटान क्षेत्रमा भइरहेको कामका बारेमा ठेकेदार कम्पनी हिन्दूस्तान सिल्भर वर्कस लिमिटेड र भारतीय सरकारका प्राविधिकहरुसँग जानकारी लिनुभयो । मन्त्री गुप्तालाई विस्थापितहरुको अवस्था, राहत वितरण प्रक्रिया तथा शिविर व्यवस्थापनका बारेमा प्रमुख जिल्ला अधिकारी जिवछ मिश्रले जानकारी गराउनुभएको थियो । यसैगरी मन्त्री गुप्ताले सप्तरीको तोपास्थित खाडो नदीले कटान थालेको स्थानको पनि निरीक्षण गर्नुभयो।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

