नेपाललाई आठ सय जिल्ला बनाउने तयारी

MNN REPORTER Report | 3 Sep 2008 | Views: 59

काठमाडौं, १८ भदौ । संस्कृति तथा राज्यपुनर्संरचनामन्त्री गोपाल किराँतीले सरकारले आठ सय जिल्ला बनाउने गरी संविधानसभामा प्रस्ताव लाने बताउनुभएको छ । रिपोर्टर्स क्लबले मङ्गलबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री किराँतीले गाउँ विकास समितीहरु नहरने गरी प्रस्ताव लाने बताउनुभयो ।

हाल रहेका गाविसमध्ये तीन देखि १५ गाविस बराबर एक जिल्ला बनाउने गरी मस्यौदा तयार भएको भन्दै उहाँले जनसँख्या, भूगोल, जाति, भाषा, समुदाय, आर्थिक अवस्थालाई आधार मानेर जिल्ला बनाइने बताउनुभयो। मन्त्री किराँतीले राज्य पुनसंरचनासम्बन्धि प्रस्तावबारे तल्लो तहसम्म बहस चलाइने जानकारी दिनुभयो । नेपाली कँंग्रेसका प्रवक्ता तथा सहमहामन्त्री अर्जुननरसिंह केसीले राज्य पुर्नसंरचनाका नाममा आठ सय जिल्ला बनाउने प्रस्ताव अस्वीकार्य हुने बताउनुभयो। राज्य पुर्नसंरचनाका लागि आम सहमती आवश्यक भएको भन्दै उहाँले आठ सय जिल्ला बनाउने विषय व्यावहारिक नहुने बताउनुभयो। काँग्रेस ९ देखि १३ स्वायत्त प्रदेश बनाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो।

संसदीय व्यवस्था मन्त्रालयको अस्तित्व समाप्त पारेर माओवादीले संसदीय व्यवस्थामाथि घृणा पोखेको नेता केसीको टिप्पणी थियो। नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले हचुवाको भरमा आठ सय जिल्लाको प्रस्ताव ल्याउन खोजिएको भन्दै आर्थिक र सामाजिक विषयहरुको छलफल र बहसपछि मात्र जिल्लाहरुको सँख्याबारे ध्यान दिनुपर्ने बताउनुभयो।

Copyright © 2007 WebSoftNepal™.
Designed & Developed by SURESH MAHARJAN