प्रचण्डको चीन भ्रमणपछि 'साउथब्लक' तनावमा
MNN REPORTER Report | 5 Sep 2008 | Views: 124
काठमाडौं, २१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका कारण भारतको 'साउथब्लक' देखि नयाँदिल्लीका सबै शक्तिकेन्द्रहरु अहिले तनावमा रहेका छन् ।
आफ्नो ग्रिपमा प्रचण्ड रहेको ठान्ने 'साउथब्लक' ले एकाएक प्रधानमन्त्री दाहाल चीन गएपछि अहिले यहाँको ७ रेसकोर्सस्थित प्रधानमन्त्री निवासदेखि सोनिया गान्धीको १० जनपथसम्म भूइँचालो गएको छ ।
चीनबाट दाहालले केही ल्याउन नसक्ने र चीन पनि अहिले केही दिन नसक्ने विश्वासमा रहेको भए पनि साउथब्लकको पहिलो चिन्ता चीनमा गएको भन्दा पनि भारतका प्रधानमन्त्रीको निम्तोलाई बेवास्ता गर्नु हो। यसै हप्ता चीनका विदेशमन्त्री यांग जियाछीले गर्ने भारत भ्रमण गर्दैछन् । तर, प्रचण्डको चीन भ्रमणलाई लिएर भने भारत चीनसँग दुष्मनी मोल्न चाहँदैन, भारतको एक निजी समाचार एजेन्सी आइएनसले आफ्नो समाचारमा लेखेको छ ।
यसअघि पनि भारतको बाह्य जासुसी एजेन्सी 'रअ' का पूर्व अधिकारी र 'दी काउवोय अफ रअ' का लेखक बि रमनले चीनले नेपाललाई पनि बर्माजस्तै बनाउन चाहेको र त्यसका लागि सबैभन्दा राम्रो हतियार माओवादी रहेको धारणा सार्वजनिक गरिसकेका छन् । सेप्टेम्बर ६ तारिखदेखि चीनका विदेश मन्त्रीले गर्ने भारत भ्रमणको बखत प्रचण्डको चीन भ्रमणले राम्रै स्थान पाउने दाबी गर्दै आइएएनसले नेपालको शान्ति, स्थायित्व नै चीनको चाहना रहेको विदेशमन्त्रीले बताउने अपेक्षा गरेको सो समाचार एजेन्सीले गरेको छ ।
प्रचण्डको चीन भ्रमणलाई लिएर भारतको संस्थापन पक्षको एउटा विशाल लबि अहिले प्रचण्डसँग रिसाएको र काठमाडौ र नयाँदिल्लीका शक्तिकेन्द्रहरु अहिले नेपालभित्र भारतको भूमिका छोट्याउने प्रयास भइरहेकोमा चिन्तित देखिएको विश्लेषण साउथब्लकले गरिरहेको छ । माओवादीलाई सुरुदेखि नरुचाएको भारतीय जनता पार्टीले कांग्रेस आईले लिएको नेपाल नीतिको तिखो आलोचना गर्दै नेपालको मामिलामा चीनले भारतलाई पछार्दै अगाडि बढिरहेको र माओवादीहरु चीनको पोल्टामा पुगिसकेको प्रतिक्रिया सार्वजनिक गरेको छ । विजेपीबाट विदेशमन्त्री भइसकेका जसवन्त सिंहका अनुसार साउथ्ाब्लकको नेपाल नीतिकै कारण छिट्टै चिनियाँहरु अब भत्केको कोशी नदीको बाँधमा कुरुवा बस्न आउने छन् ।
भारतको संस्थापन पक्षसँग निकट रहेका भनिएका भारतका ठूला दैनिकहरु टाइम्स अफ इन्डिादेखि दी इन्डियन एक्सप्रेसले लेखेका सम्पादकीयहरुबाट दाहालको चीन भ्रमणबाट भारत कति रिसाएको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ। भारत र चीनलाई समदुरीमा राख्ने भनेर प्रचण्ड र उपेन्द्र यादवले दिएको प्रतिक्रियाले पनि भारत झस्केको छ । भारतभित्रको विजेपी र नेपालभित्र दरबारको लाइन बोकेर हिंड्ने उपेन्द्र यादवले दिएको प्रतिक्रिया देखेर अहिले भारतीयहरु तीनछक परेका छन् । उनको भारत भ्रमणका क्रममा साउथब्लकदेखि सबै नेताहरुले दिएको दह्रो झापडपछि उपेन्द्रले आफ्नो लाइन पूरै चेन्ज गरेको स्रोतहरुको दाबी रहेको छ ।
तर, अपेक्षा गरेजस्तो चीनबाट प्रचण्डले केही भित्राउन नसकेका कारण भारतको संस्थापन पक्षलाई एक प्रकारको सन्तोष भएको छ । चीनको भ्रमणले निम्तयाएको विवादको लगत्तै कोशी नदीको कटानले निम्त्याएको विवादले पनि अहिले साउथब्लकलाई तनावमा पारेको छ । प्रचण्डले कोशी सम्झौता ऐतिहासिक भूल र परराष्ट्रमन्त्री उपेन्द्र यादवले भारतको गल्तीका कारण कोशीले नेपालमा विपत्ति निम्त्याएको प्रतिक्रिया दिएपछि भारत अहिले दाहालको नेतृत्वमा रहेको सरकारसँग मुरमुरिएको छ । भारतका सबैजसो टेलिभिजन च्यानल, दैनिक पत्रिकाहरुले नेपालले ढोका खोलिदिएकै कारण कोशीमा बाढी आएको र बिहारका २५ लाख मानिसहरु विस्थापित भएको एकोहोरो समाचार फुक्दै आएका छन् । तर उपेन्द्र यादवले नयाँदिल्ली बाह्रखम्बामा रहेको नेपाली दुतावासमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारतीय टेलिभिजन च्यानल र पत्रपत्रिकाका संवाददाताहरुले एकोहोरो के कोशीको बाँध फुट्नुमा नेपालको दोष छैन? भारतले के गल्ती गर्यो? भारतीय प्राविधिक र ठेकेदारहरुलाई मर्मत गर्न पठाउँदा किन दिइएन? नेपालले कोशीको ढोका किन खाल्यो? बिहारमा सयौ मर्ने र लाखौ विस्थापितको जिम्मा को? भनेर प्रश्न सोधेपछि दिल्लीको ४० डिग्रीमा उपेन्द्र यादव पूरै पसिनै पसिना भएका थिए । भारतको मात्रै गल्ती छैन नेपालको पनि गल्ती भएको छ भन्दै दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय पत्रकारहरु माझ माफी मागेका थिए ।
शनिबारै साझ भारतको एक अंग्रेजी टेलिभिजन च्यानल सिएनन आईविएनमा प्रसारित उनको अन्तरवार्ताका क्रममा पनि उपेन्द्रले नेपालको समेत गल्ती रहेको स्वीकारेका थिए । साउथब्लकलाई रिझाएर आफ्नो सत्ताको आयु लम्ब्याउने चालको रुपमा उपेन्द्र यादवको यो अभिव्यक्तिलाई दिल्लीमा लिइएको छ । त्यसो त असोजमा प्रचण्डले तयारी गरेको भारत भ्रमण पनि उनका लागि फलामको च्यूरा सावित हुने भएको छ । चीन भ्रमणदेखि कोशी कटानका क्रममा दिएको अभिव्यक्तिदेखि माओवादीले चीनसँग नजिकिन खोजेको प्रसंगलाई लिएर प्रचण्डको भारत भ्रमण धेरै कारणहरुले फलामको च्यूरा सावित हुने दाबी स्रोतहरुको रहेको छ । भारतभित्रै बिहार सरकार र केन्द्र सरकारका बीचमा कोशीको बाँध कसले मर्मत गर्ने भन्ने बारेमा चलिरहेको बिवादको लाभ नेपालले उठाउन नसक्नु नेपालको दूर्भाग्य रहेको ठान्छन् ।
कोशी नदीको मर्मतलाई दिएर अहिले बिहार सरकारका मन्त्री र कर्मचारीहरुले केन्द्र सरकारलाई दोक्ष दिइरहेका छन् भने केन्द्र सरकारका मन्त्रीहरुले बिहार सरकारलाई। तर जे भए पनि माओवादीको नेतृत्वमा रहेको सरकारलाई मजाले खेलाउन भारतसँग प्रशस्तै कार्ड र हतियारहरु रहेको र भारतले कुनै पनि बेला ती आफ्ना कार्डहरु ओपन गर्न चुनौती दिन्छन् यहाँका रणनीतिकारहरु। प्रचण्डले गर्ने भारत भ्रमणका बेला भारतले आ आफ्ना तर्फबाट यो यो शर्तहरु रहेको र यी, यी कुराहरु पूरा नगरे चार महिना पनि सरकार चलाउन नदिने र प्रचण्डको खैरियत देखाइदिने रणनीतिमा अहिले साउथब्लक रहेको छ ।
भारतले अघि सार्ने शर्तहरु पूरा नगरे चार महिनाभित्रै सरकार ढालिदिनेदेखि माओवादीको पत्तासाफ गरिदिनेमात्र होइन तराईमा आन्दोलनको आँधीबेहरी खडा गरी सरकारलाई निकम्मा तुल्याउन सक्ने क्षमता भारत राख्छ भन्ने सन्देश र शर्त भारतले अघि सार्ने बुझिन्छ। धेरे भारतीय रणनीतिकारहरु अझै पनि भारतले अझै आफ्ना कार्डहरु ओपन नगरेको दाबी गर्छन। पेट्रोलियदेखि तराईको कार्डमात्रै प्रयोग गर्ने हो भने पनि दुई घण्टाभित्रै माओवादीको सरकार दिल्लीको शरणमा झुकेर आउने दाबी गर्छन यहाँका रणनीतिकारहरु। तर हामी तत्काल यो रणनीति अख्तियार गर्ने सोच र दाउमा छैनौ। तर यदि माओवादी र प्रचण्डको नेतृत्वमा रहेको सरकारले यसरी दिनदिनै भारतलाई जिस्क्याउने काम गरेमा उनीहरुले आफ्नो अवनतिको दिन गनेर बसे हुने चेतावनी दिन्छन् एकथरी बिश्लेषकहरु। सकेसम्म नयाँ संविधान यही सरकारले बनाओस् र प्रतिपक्षमा रहेको कांग्रेस बलियो बनोस् भन्ने अहिलेको भारतको चासो छ। तर नौ महिनापछि हुन गइरहेको भारतको आम चुनावमा यदि विजेपी ठूलो दलको रुपमा आए माओवादीका लागि अझै महंगो सावित हुने निश्चित छ। जनमतसंग्रहबाट नेपाललाई हिन्दू राष्ट्र बनाउने कि धर्मनिरपेक्ष राष्ट्र भन्ने कुराको टुंगो लगाउनुपर्ने पहिलो शर्त हुने छ विजेपीको एक विश्वस्त स्रोत उल्लेख गरेको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

