कार्यवाहक अध्यक्षको व्यवस्था गरिदैन : प्रचण्ड
MNN REPORTER Report | 4 Oct 2008 | Views: 31
काठमाडौं, १८ असोज । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीमा कार्यवाहक अध्यक्षको कुनै व्यवस्था नगरिने बताएका छन् । १८ असोजमा बसेको पार्टी केन्द्रीय कमिटिको बैठकपछि संचारकर्मीको जिज्ञासामा उनले कार्यवाहक अध्यक्षको कुनै व्यवस्था नहुने स्पष्ट पारेका हुन् ।
'कार्यवाहक अध्यक्षको व्यवस्था हुदैन,' प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने,'पार्टीलाई अझ सुदृढ बनाउन सांगठनिक हेरफेर हुन्छ ।' जारी बैठकमा आफूले प्रस्तुत गरेको प्रतिवेदनमाथि गम्भीर छलफल भइरहेको बताए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी भएको र र्सवसम्मतले पारित हुने दाबी गरे ।
माओवादी बैठकमा मोहन वैद्य किरणलाई कार्यवाहक अध्यक्ष बनाउन केही नेताहरुले प्रस्ताव गरेको बुझिएको छ । अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरेपछि पार्टी कामकारबाही सुस्त भएको भन्दै तत्कालका लागि वैकल्पिक व्यवस्था गर्न माग उठेको हो । माओवादी प्रवक्ता एवं सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले भने सबै विषयहरुमाथि छलफल भइरहेको बताए ।
हालसम्म १७ केन्द्रीय सदस्यले बोलेको र २० असोजको विहान ८ बजे अर्को बैठक बस्ने जानकारी गराए । जनगणतन्त्रबारे छलफल भयो भन्ने प्रश्नमा केन्द्रीय सदस्य हिसिला यमीले जनगणतन्त्रकै बाटोमा मुलुक गइसकेको दाबी गरिन् । उनले भनिन्,'सेना समायोजन, आर्थिक एवं सामाजिक पुनसंरचनाको विषय भनेकै जनगणतन्त्रको बाटो हो ।'
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

