अध्यक्ष प्रचण्डको प्रतिवेदन बहुमतमा
MNN REPORTER Report | 25 Nov 2008 | Views: 29
काठमाडौं, ११ मंसिर । भक्तपुर खरिपाटीमा ६ मंसिरदेखि सुरु भएको माओवादीको राष्ट्रिय कार्यकर्ता भेला समाप्ती नजिक पुगेको छ । श्रोतका अनुसार, मंसिर १० गते बिहानदेखि सुरु भएको माओवादी केन्द्रीय समिति बैठक सकिएपछि १२ बजेदेखि भेला पुनः सुरु हुनेछ ।
भेलामा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता मोहन बैद्य किरणको प्रतिवेदनलाई निर्णयमा पुर्याउन केन्द्रीय समितिको बैठक बसेको हो । २१ समूहमा बाढिएर गरिएको छलफलपछि भेलामा प्रचण्डको राजनीतिक प्रतिवेदनको पक्षमा बहुमत देखिएको छ । तर, किरण पक्ष भने जनमुक्ति सेनाले अनुशाषन र कमाण्डको हवाला दिदै कुनै पक्षमा खुला मत प्रदर्शन नगरेका कारण कसको पक्षमा बहुमत छ भन्ने निश्चित भइनसकेको दावी गर्छ ।
किरण पक्षको भनाई अनुसार, पार्टी नेतृत्व र सत्ता प्रयोग गरेका कारण प्रचण्डको पक्ष केही बलियो देखिएको हो । २१ समूहमा बाढिएको भेलाले प्रचण्डको संघीय र प्रतिस्पर्धात्मक जनपक्षीय गणतन्त्र र किरणको जनगणतन्त्र नामका प्रतिवेदनमा छलफल गरेका थिए । यसैबीच, माओवादी भेलाबारे सरकारी दैनिक गोरखापत्रमा मंसिर १० गते छापिएको समाचारबारे संचारमन्त्रालयले गोरखापत्रका अध्यक्ष मात्रृकाप्रसाद तिम्सिना र निमित्त प्रधानसम्पादक कृष्ण श्रेष्ठलाई स्पष्टिकरण सोध्न लागेको श्रोतले दावी गरेको छ । गोरखापत्रले भेलाको २१ समूहमा किरण पक्षको दुई समूह र बाँकिमा प्रचण्ड पक्षको बहुमत रहेको तथ्याङ्क प्रस्तुत गरेको छ । अधिकांस समुह नेता अध्यक्ष प्रचण्ड पक्षधर भएकाले किरण पक्षधरले आफ्नो पक्षले पनि निस्कर्षसुनाउन पाउनुपर्ने अडान राखेपछि एउटा समुहबाट दुइजनाले निस्कर्षबुझाउने भएका हुन् । स्रोतका अनुसार २१ ओटा समुह मध्ये १७ ओटा समुहका नेता अध्यक्ष प्रचण्ड पक्षधर रहेका छन् । समुह नेता छान्न हिजो अधिकांस समुहमा मतदान भएको थियो । समुहगत छलफलमा धेरैजसो कार्यकर्ताले दुइ प्रतिवेदनलाई एउटै बनाउनुपर्ने धारणा पनि राखेका थिए ।
सामुहीक छलफलमा समुह नेताहरूले निस्कर्षसुनाइसकेपछि अध्यक्ष प्रचण्ड र नेता किरणले आ-आफ्ना प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने माओवादी नेता हरिभक्त कँडेलले जानकारी दिनुभयो । भेलामा अध्यक्ष प्रचण्डले संघिय प्रतिस्पर्धात्मक जनपक्षिय गणतन्त्र र बैद्यले संघात्मक राष्ट्रिय जनगणतन्त्रलाई तत्कालीन कार्यनीति बनाउनुपर्ने प्रताव राख्नुभएको छ । ६ मंसिरदेखि भक्तपूरको खरिपाटीमा जारी भेलामा राज्य समितिका सदस्य, सल्लाहकार समिति, विभिन्न्ा विभागका सदस्य, जनमूक्ति सेना गरी १ हजार २ सयको सहभागीता रहेको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

