तराईमा सशस्त्र समूहसंग वार्ता: आशा र निराशा
MNN REPORTER Report | 2 Dec 2008 | Views: 27
काठमाडौं, १८ मंसिर । तराईमा सकृय सशस्त्र समूहहरूसंग छिट्टै वार्ता हुने दावी सरकारले पटक पटक गरेपनि वार्ता हुन नसकेपछि मानिसहरूमा निराशा छाउन थालेको छ।
वार्ताका आश्वासनसंगै हिंसात्मक घटनाहरू बढेको उनीहरूको भनाइ छ । मानिसहरूको यो निराशा केही हप्ता अघिसम्म थिएन जतिबेला मानिसहरु सरकारको बोली व्यवहारमा परिणत हुने प्रतिक्षामा थिए । एकजना विद्यार्थी अंजली साहनीले भनिन्, "सधैं वार्ता हुन्छ हुन्छ भन्छन तर वार्ताको कुनै सुरसार देखिएको छैन । मान्छे मार्ने काम रोकिएको छैन ।" सरकारी मन्त्रीहरूले शुरूमा दशैंपछि वार्ता हुने बताएपनि पछि तिहारपछिको कुरा हुने आश्वासन दिएका थिए ।
त्यसपछि मन्त्रीहरूले तराईको ठूलो पर्व छठ लगत्तै वार्ता शुरु हुने बताएका थिए । तर उनीहरूको आश्वासन पुरा नभएकोले अब वार्ताको आशा नै मरिसकेको एकजना कृषक मनोज झाले बताए । पछिल्लो पटक मन्त्रीहरूले मंसिरको दोस्रो हप्ता विद्रोहीहरूसित वार्ता हुने दावी गरेका थिए जुन समय सीमा पार भैसकेपनि वार्ताबारेको अन्यौल कायमै छ ।
विद्रोही समूहहरूले वार्ताका लागि सरकारले विश्वसनीय वातावरण नै नबनाएको आरोप लगाएका छन् । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका प्रवक्ता कौटिल्य शर्माले भने, "वार्ताका लागि हामी त तयार छौं, तर गिरफ्तार गरिएका हाम्रा कार्यकर्ताहरूलाई रिहा गरी वातावारण बनाइयोस् भन्ने हाम्रो मागलाई सरकारले बेवास्ता गरेको छ ।"
उता सरकारी वार्ता टोलीका संयोजक तथा शान्ति मन्त्री जनार्दन शर्माले वार्ताका लागि विद्रोही समूहहरूसंग पत्राचार भइरहेको बताए । उनले भने, "कतिपय सशस्त्र समूहहरूसंग अनौपचारिक रूपमा सम्पर्क भइरहेको छ । अब छिट्टै औपचारिक वार्ता हुनेछ ।" विश्लेषकहरू भन्छन्, वार्ताबाट समस्याको समाधान खोज्ने प्रयासले कुनै गति लिन नसकेको बेला अपहरण र हत्या जस्ता हिंसात्मक घटनाहरू भने बाक्लिएका छन् ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

