विदेशमा रहेका नेपालीका लागि: यो मन त मेरो नेपाली हो
MNN REPORTER Report | 7 May 2009 | Views: 1037
काठमाडौं, २४ वैशाख । यो मन त मेरो नेपाली हो... विदेशमा रहेका नेपालीका लागि १९७४ एडी ब्यान्डको यो गीत राष्ट्रगान जत्तिकै छ ।
हङकङ, जसो गर, जे भन....
जतासुकै लैजाऊ मलाई.....
देशप्रेमले ओतप्रोत यो गीत सुनेर जहाँसुकैका नेपाली युवा समुदाय जुरुक्कै उचालिन्छन् । हेनरी जी ल्योङ हलमा शुक्रबार साँझ स्थानीय संगीतकर्मीहरू जोसिलो वाद्यवादनमा यही गीत गाइरहेका थिए । अवसर थियो रिदम साँझको र त्यो रोगले थलिएका वृद्ध सिनेकर्मी गोपाल भुटानीको सहयोगार्थ आयोजित थियो । मनीष रोयले त्यो गाउन के सुरु गरे, पाकाहरूसमेत उचालिए । उक्त गीतले सात समुद्रपारि यो भूमिका नेपालीको मन छुनु छोएको थियो । टाँसिएको कुर्सी छाडेर अधिकांश दर्शकश्रोताले दरिलो मुठी उचाल्दै मनीषसँगै स्वर मिलाउन थाले ।
हङकङकै नेपाली कलाकार संघद्वारा आयोजित कार्यक्रममा करिब दुई दर्जन कलाकार सहभागी थिए । उनीहरूले हिन्दी र अंग्रेजी गीत पनि सुनाए । नृत्य प्रस्तुतिले पनि सहभागीलाई खल्लो पारेन । सुक्मित गुरुङले उस जमानामा गाएको 'ओ मेरो पि्रयतम, निष्ठुरी भयौ के कारण...' को नशा अझै कम भइसकेको रहेनछ । गायिका सुनिता हिराचनले यो गाउँदा सबैले नाचेरै साथ दिए । नाच्ने धीत नमरेकाहरू 'वन्स मोर, वन्स मोर...' भनिरहेका थिए । गायिका भने 'अरूलाई पनि पालो दिनुपर्छ' भन्दै स्टेजबाट ओझेल भइन् । सन् सत्तरीको दशकको सदावहार हिन्दी गीत 'दम मारो दम..' ले समेत माहोल निकै ततायो । सांगीतिक समूहसँगै स्टेजमा आएका सुयोग गुरुङको रिमिक्स गायन र फुर्तिलो प्रस्तुतिमा देवानन्द र जिनत अमानको शैलीमा टाउको हल्लाउने र कम्मर मर्काउनेको कमी रहेन । पोखरेली संागीतिक समूह नेपथ्यका पूर्वसदस्य रविन श्रेष्ठले भने दर्शकका अनुमान- विपरीत अंगे्रजी गीत गाए । उनले रोय अरबिसनको 'ओ पि्रटी वुमन...' सुनाए । त्यो गीतलाई हङकङे युवतीहरूले आफूप्रति नै लक्षित ठानेछन् कि क्या हो, रविनसँगै गाए ।
अब पालो नृत्यको थियो र स्टेजमा देखिए- दिदीबहिनी सुनिता र पविता गुरुङ । पृष्ठभूमिमा बज्न थाल्यो लोकभाका- झ्याइँ पार्यो मलाई, गैरीगाउँको झल्िकेले झ्याइँ पार्यो... ती दिदीबहिनीको फुर्तिलो नृत्यले पनि अधिकांशलाई आफ्नै गाउँठाउँ सम्झाएछ, ननाच्ने कमै भेटिए । यी दिदीबहिनीपछि आएकी थिइन् हालैकी 'हङकङ डान्स आइडल' रेनु थापा । उनले समेत वाहवाही बटुलिन् । 'फूलफूलमा पात पातमा..' गीतमा उनको छरितो नृत्य देखेपछि एक जोडीले मुखै खोले- 'वाह, यस्तो पो नृत्य । यी चेली आइडल हुन लायककै रहिछन् ।' कार्यक्रममा हेम राई, मिन गुरुङ, कमल राई, टोपराज लामा, कविन राई, सुनिता प्रधान, प्रकाश लिम्बू, रविन मास्के, अर्जुन तामाङ, विशाल लिम्बू, शास्त्र र इस्टलाइफ ब्यान्डको पनि सहभागिता थियो । कार्यक्रमबाट एक लाख एक सय रुपैयाँ संकलित भयो । 'यो रकम कलाकार भुटानीलाई चाँडै उपलब्ध गराउने छौं,' संघका रविन श्रेष्ठले भने ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)