सरकारबाट बाहिरिनुपर्ला भन्ने सोचेका थिएनौ
MNN REPORTER Report | 2 Jun 2009 | Views: 905
माओवादीभित्र 'सिद्धान्तका गुरु’ मानिने मोहन वैद्य 'किरण’ खरो नेताका रूपमा चिनिन्छन् । गएको मंसिर पहिलो साता खरिपाटीमा भएको राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध छुट्टै दस्तावेज प्रस्तुत गरेरमात्र होइन, संविधानसभा सदस्यबाट राजीनामा दिएरसमेत उनी चर्चामा आएका थिए । हालैको प्रधानसेनापति प्रकरणमा पार्टीले सरकार छाड्नुपर्ला भन्ने कल्पनासमेत नगरेको उनको भनाइ छ । प्रस्तुत छ, माओवादी सरकारबाट बहिर्गमन भएको सन्दर्भमा वैद्यसँग गरेको कुराकानी ।
अहिलेको घटनाक्रमलाई कसरी लिनु भएको छ ?
मैले यसलाई अस्वाभाविक परिघटनाको रुपमा लिएको छु । कुन अर्थमा भने हाम्रो नेतृत्वमा सरकार बन्यो, त्यसको प्रमुख घटक नेकपा एमालेले प्रधानसेनापति रुक्मांगद कटवाल प्रकरणमा अन्तिम समयमा अवकाश दिन सहमति जनायो । त्यही आधारमा हामीले कार्बाही प्रक्रिया अघि बढायौै । अन्तिम समयमा एमालेले आफ्नो निर्णय ठाडै अपहेलना गर्यो । उसले हामीलाई बिश्वासघात गर्यो । यसरी यो अस्वाभाविक घटना भयो । तैपनि अब यसलाई स्वभाविक रुपमा लिएर अगाडि बढ्नुपर्छ ।
एमाले किन त्यस्तो गर्यो होला ?
एमालेभित्रको अन्तरबिरोधका कारणले कटवालका सन्दर्भमा निर्णय बदलेकोजस्तो लाग्छ । एमालेका एउटा पक्षले कटवाल प्रकरणलाई सकरात्मक रुपमा लिएको पाइन्छ भने अर्को पक्षले नकरात्मक रुपमा लिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले त यसमा बिदेशीको हात छ भनेर खुलेरै भन्नु भयो नि त ?
केही बिदेशी केन्द्रको भूमिका देखिन्छ । पश्चगमनकारी शक्तिको भूमिका निश्चित रुपमा छ । एमाले स्वयम पनि पश्चगमनकारी प्रतिनिधि हो । सबै नेता भने होइनन् । यो परिघटना अग्रगामी र पश्चगामीधाराबीचको द्वन्द्व हो ।
घटनाक्रमले द्वन्द्व सिर्जना गरेको मान्नु हुन्छ ?
यहाँसम्म आइपुग्दा असमतिका बाबजुद सँगै आएका हौ । कटवाल प्रकरणसम्म आउँदा काँग्रेस त आफ्नो लाइनमा छँदै थियो, एमाले नेतृत्वले समेत गलत ढंगले जाने काम गर्यो । अब काँग्रेस एमालेले बिगतका निर्णय उल्ट्ाउने त होइनन्, गम्भीर प्रकारको आशंका उत्पन्न गर्यो ।
सत्ता आरोहण र बहिर्गमनपछि माओवादी कुन अवस्थामा आइपुगेको छ ?
समग्र स्थितिको मूल्यांकन गर्दा जस्तो हुनुपथ्र्यो, त्यस्तै भयो । किनभने सबै परिघटनाको मूल्याङ्कन गर्दा हामी सरकारमा त गएका थियौ, तर राज्यसत्तामा गएका थिएनौ । माक्र्सवादी मान्यताअनुसार राज्यसत्ता भनेको सेना, अदालत र कर्मचारीतन्त्र हो । ती सबै हाम्राे अनुकूल भएनन् । हाम्रो नेतृत्व भएपनि सरकारी संरचना पुरानै भए । यसबीचमा नयाँ र पुरानोबीच संघर्ष भयो । नयाँ शक्ति सरकारमा जाँदा पुरानो संरचना बाधक बन्छ भन्ने माक्र्सवादको निचोड हो । वास्तवमा त्यही भयो । उनीहरुले आफ्नो वर्ग हैसियतलाई अवलम्बन गरे । नयाँ शक्तिलाई अगाडि बढ्नबाट रोके । त्यो शक्तिलाई अन्तर्राष्ट्रिय शक्तिलाई बल दियो ।
राज्यसत्ता प्राप्त गर्ने अभ्यास सेनापति परिवर्तनबाट थाल्नु भएको हो ?
सेनालाई लोकतान्त्रीकरण गर्नुपर्छ भन्ने कुरा हामीले मात्र गरेको होइन, सबैको मान्यता हो । बृहत् शान्ति सम्झौतामा पनि उल्लेख भएको छ । संक्रमणकालमा सबै परिवर्तन हुन्छ भन्ने कुरा हामीेले सोचेका होइनौँ । जुन कटवाल प्रसंग आयो, हामीले सोचेको विषय होइन । हामी हटाउन पनि चाहँदैनथ्यौँ । कटवालबाट जुन गतिविधि भए, ती गतिविधि लोकतन्त्रविरोधी भए । उनका गतिविधि निर्वाचित सरकारले स्वीकार गर्ने खालका भएनन् । जुनबेला होलेरीमा गिरिजाप्रसादले सेना परिचालन गर्न खोजेका थिए, सेनाले नमानेपछि उनले राजीनामा दिए । त्यसबेला सेना राजाको मातहतमा थियो भने अहिले सेना त्यस्तै शक्तिको निर्देशनमा चलेको छ भन्ने पुष्टि भएको छ । त्यही भएर हामी कटवालको विरोधमा जाने स्थिति आयो । यो कुरा हामीले नचाहँदा नचाहँदै पनि आइपर्यो । अरू हामीले के गरेका छौँ र ? सामान्य परिवर्तन गर्नमात्र त खोजेका थियौँ ।
सेनाप्रमुखलाई अवकाश दिँदा सरकारै छाड्नुपर्ला भन्ने सोच्नुभएको थियो ?
हामीले सरकारबाट बाहिरिनुपर्ला भन्ने पटक्कै सोचेका थिएनौँ । अप्रत्याशित घटनाको विकास भयो । यसबाट गणतन्त्र काँचो रहेछ भन्ने कुरा थाहा भयो । एमालेको नेतृत्वबाट यस किसिमको घात होला भनेर कल्पनै गरेका थिएनौँ ।
एमालेले कस्तो घात गर्यो ?
हाम्रा अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच फोनमा संवाद भयो, चाइना जानुभन्दा ठीक अघि । 'प्रधानसेनापतिलाई अवकाश दिए हुन्छ, हाम्रो पार्टीले समर्थन गर्छ' भनेर खनालले भन्नुभयो । उहाँले त्यसो भनेपछि अवकाश दिने निर्णयमा हामी पुग्यौँ । सुरुमा कांग्रेसले विरोध गरेपछि एमालेभित्र द्वन्द्व भयो र अन्ततः उसले धोका दियो ।
माओवादीले विश्वासको वातावरण बनाउन नसक्दा यो अवस्था आयो भन्ने लाग्दैन ?
गिरिजाबाबुले सरकारको नेतृत्व गर्दा सबैलेे स्वीकार गर्दै आएको कुरा हो । हामी सरकारमा भएका बेला निरीहजस्तै भयौँ । सरकारका साझा नीति तथा कार्यक्रम बनायौँ, बजेट बनायौँ । लागू गर्ने सिलसिलामा, स्थानीय निकाय बनाउने विषयमा एमालेले पटक्कै सहयोग गरेन । हामी सँगसँगै भएको बेलामा सर्वसत्तावादी भन्नु बेकारको कुरा हो । प्रधानमन्त्रीमा कार्यकारी अधिकारको प्रयोग गर्ने सिलसिलामा केही निर्णय गर्न सक्छन् । प्रधानमन्त्रीले अन्य पक्षलाई उपेक्षा गरेर जानुभएन । हामीले सहमतिका आधारमा विश्वासको वातावरण बनाउन खोजेकै हो ।
सत्ता कब्जाको कुरा पनि बेलाबेला गरिरहनुहुन्छ नि तपाईंहरू ?
हामी पूर्वविद्रोही हौँ । क्रान्तिकारीले सत्ता कब्जा गर्छन् । त्यो कसरी गर्ने भन्नेमात्र कुरा हो । कांग्रेस सत्तामा बसे पनि नबसे पनि सत्ता उसकै हातमा छ । सत्ता पुरानो सामन्त, दलाल र नोकरशाहकै हातमा छ । परिवर्तनपछि जनताको हातमा सत्ता हुनुपर्छ भनेर जसले पनि भन्छ । राजनीति भनेको एउटा वर्गले अर्को वर्गको हातबाट सत्ता लिनु हो । सत्ता कब्जा गर्ने कुरा हामीले राजनीतिक रूपमा भनेको हो । अहिले हतियार उठाएर कब्जा गर्छौं भन्ने होइन ।
नयाँ सरकार बन्ने अवस्थामा अन्य दल र माओवादी कहाँ-कहाँ छन् ?
समग्रमा भन्नुपर्दा हाम्रो पार्टी आदर्श र सपना लोकतन्त्रलाई स्थापित गर्नुपर्छ, अझ उचाइमा सुदृढ गर्नुपर्छ भन्ने कुरामा दृढ छौँ । यहाँसम्म आउँदा नेपालको राष्ट्रिय स्वाधीनता र क्षेत्रीय अखण्डताको पक्षमा कतिपय अन्तर्राष्ट्रिय शक्तिबाट जुन हस्तक्षेप भएको छ, त्यसविरुद्ध संघर्ष गर्दै अघि बढ्नुपर्छ भन्नेमा दृढ छौँ । अन्य पार्टीहरू रूपान्तरण प्रक्रियाबाट पछि हट्दै छन् कि, गम्भीर आशंका भएको छ ।
अब माओवादीको कार्यनीति के हुन्छ ?
सरकारमा रहँदा पनि नरहँदा पनि जनताको लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रको औचित्यबारे हामी स्पष्ट छौँ । अब बन्ने नयाँ संविधान कस्तो हुनुपर्छ भन्नेमा हाम्रो मान्यता कायमै छ । अझै पार्टीलाई कसरी अगाडि बढाउने विषयमा छलफल र बहस त भइहाल्छ । क्रान्तिकारी पार्टी बनाउन कतै कमीकमजोरी, विचलन छन् कि भन्ने बारेमा छलफल भइहाल्छ । खबरदारी पार्टीमा भइहाल्छ । खरिपाटीमा लोकतन्त्रलाई सुदृढ गर्न कुरा अघि बढायौँ, त्यो मान्यतालाई स्थापित गर्दै अघि बढाएका छौँ ।
नौ महिने सरकारमा रहेर के प्राप्त गर्नुभयो ?
यो अवधिको मूल एजेन्डा भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र नयाँ संविधान लेखनका लागि वातावरण बनाएर जाने हो । तर एकलौटी सरकार थिएन । हाम्रो नेतृत्वको सरकारलाई एमालेले हातखुट्टा बाँध्यो । यो मामिलामा नेपाली कांग्रेसलाई केही दोष दिनेवाला छैनौैँ । ऊ प्रतिपक्षमा बस्यो, खबरदारी गरेर आफ्नो धर्म निर्वाह गर्यो । अत्यन्तै विश्वासघाती भनेको एमाले हो । कम्युनिस्टले कम्युनिस्टलाई विश्वासघात गर्यो । सरकारको सहयोगी भएर पनि विश्वासघात गर्यो । आफैँले वचन दिएर वचनबाट फिर्ता भयो एमाले । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एमालेले गरेको विश्वासघात भावी पिँढीले अध्ययन गर्नेछ ।
माओवादीले पनि राष्ट्रपति निर्वाचनमा एमालेलाई यसैगरी धोका दिएको होइन र ?
राष्ट्रपतिको विषयमा कुरा गर्दा हामीले एमालेका नेता माधव नेपाललाई राष्ट्रपति दिन्छौँ भनेका थियौँ, तर गृहमन्त्री नमाग्ने सर्तमा । एमाले दुवै हुनुपर्छ भन्थ्यो । अन्त्यमा आएर एमाले र हाम्रो टिम बस्दा उसले राष्ट्रपति र गृहमन्त्री पद छाड्दैनौँ भन्यो । हामीले दुवै पद दिन सकिँदैन भन्यौँ । एमालेले गृहमन्त्री छोड्ने निर्णय गरेको रहेछ, हामीलाई त्यो थाहा भएन । तर झलनाथ खनालले अन्त्यसम्म पनि दुवै पद चाहिन्छ भन्नुभयो, हामीले हुँदैन भन्यौँ । त्यसबेला हामी मुस्किलले दुई मिनेट बसेका थियौँ । अर्को पटक माधवजीसँग बसेका बेलामा उहाँले तपाईंहरूले विश्वासघात गर्नुभयो भनेर भन्नुभयो । हामीले दुइटै मागेमा पछि कसरी दिन सक्छौँ भन्यौँ । उहाँले त गृहमन्त्री छोड्ने निर्णय पार्टीले गरेको सुनाउनुभयो । हामी त छक्क पर्यौँ । झलनाथ खनाल कुरा प्रस्ट नभन्ने मान्छे हुनुहुँदोरहेछ । हामीले माधवजीलाई राष्ट्रपति बनाउने कुरा झलनाथजीकै कारण बदल्नुपरेको हो । त्यसलाई अहिलेको कटवाल प्रकरणसँग दाँज्न मिल्दैन । हामीले साहना प्रधानलाई राष्ट्रपति बनाऔँ भन्दा नमान्ने एमालेले कांग्रेस सभापति गिरिजाबाबुले गरेको
प्रस्ताव मान्यो ।
सरकारमा बसेर माओवादीले काम गर्न नसकेको त मान्नुहुन्छ ?
माओवादीले राम्रा काम गर्न खोजे सत्ता कब्जा हुन्छ, अरूले जे गरे पनि प्रजातन्त्रका लागि हुन्छ र पशुपतिको पूजारीलाई हटाउँदा सत्ता कब्जाको कुरा गरियो । अदालतले पनि के गर्या हो ?
राष्ट्रपतिको कदमविरुद्ध कस्तो आन्दोलन गर्दै हुनुहुन्छ ?
हाम्रो आन्दोलन शान्तिपूर्ण ढंगले हुन्छ, सडक र सदनबाट ।
माधवकुमार नेपालको सरकारलाई कस्तो सहयोग गर्नुहुन्छ ?
हामी प्रतिपक्षकै रूपमा सहयोग गर्नेछौँ । राम्रो गरेका काम राम्रै भन्छौँ । माधवजीको सरकारलाई कठपुतली सरकार भनेका छौँ । सरकार कसरी चलाउनुहुन्छ, त्यसमा निर्भर हुन्छ । तर यो सरकारलाई हामीले राजनीतिक रूपमा स्वीकार गर्ने कुरा हुँदैन । सरकारको काम-कारबाही हेरेर गरिन्छ । यसले कसैको निर्देशनमा काम गर्ने हो, शान्ति र संविधान निर्माणमा कस्तो भूमिका खेल्छ, यो सरकारको अग्निपरीक्षा भनेको पनि त्यही हो ।
एमालेसँगको वामपन्थी एकता’ को कुरा कहा पुग्यो ?
एमाले वामपन्थी भए पो एकताको कुरा गर्नु, अहिलेको समयमा यो लागू हुँदैन । व्यवहार दक्षिणपन्थ भएकालाई के वाम भन्ने ? संविधानसभा निर्वाचनअघि एमालेलाई वाम बनाउन धेरै मिहिनेत गरियो । उहाँहरूले वाम एकताको कुरै सुन्न चाहनु भएन, दम्भ देखाउनुभयो । भारतको पश्चिम बंगालको जस्तो बनाऔँ भन्यौँ । तर एमालेका साथीहरूले मान्नुभएन । संविधानसभा निर्वाचनपछि पनि एकताको कुरा गर्यौँ, त्यसमा पनि सहमति भएन । सारमा भन्ने हो भने एमाले वामपन्थी नै होइन । सबै नेता भने दक्षिणपन्थी होइनन् । एमालेमा वाम र दक्षिणपन्थीबीच धु्रवीकरण जरुरी छ ।
हामी सहमतिकै आधारमा जानुपर्छ भन्ने ठान्छौँ । तर हामीलाई अझै अछूत ठान्ने प्रवृत्ति छ । कांग्रेस, एमालेले आफूलाई पवित्र मसिहा ठान्ने गरेका छन् । उनीहरूको रगतमा सम्झौतावाद बगिरहेको छ । विगतमा पनि राजासँग सम्झौता गर्दै आए, अन्त्यमा आपत् परेपछि माओवादीसँग मिल्न आएका हुन् ।
प्रधानमन्त्रीका रूपमा माधव नेपाललाई कसरी लिनुहुन्छ ?
व्यक्तिगत रूपमा भन्नुपर्दा म माधव नेपालप्रति पोजेटिभै छु । किनभने व्यक्तिगत रूपमा उहाँसँग केही पूर्वाग्रह छैन । तर उहाँ यस स्थितिमा गलत सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । सरकारलाई कठपुतली भनेको सन्दर्भमा उहाँमात्र ठीक भन्ने कुरा हुँदैन ।
माधव नेपालले राम्रो गरे भने समर्थन हुन्छ कि हुँदैन ?
भोलिको कुरा भोलि नै हुन्छ । हाम्रो राष्ट्रपतिविरुद्धको संकल्प प्रस्तावलाई सदनमा बहसमा लैजानुपर्यो । असंवैधानिक कदमलाई उठाउनुपर्यो माधवजीले । यस्तो भयो भने सोच्ने कुरा आउँछ ।
एमालेका केही नेताहरूले केही महिनाभित्र माओवादीसहितको राष्ट्रिय सरकार बनाउने बताइरहेका छन्, यो सम्भावना छ ?
मलाई त्यो विश्वास छैन । यो स्थितिमा पार्टी सरकारमा जानु हुँदैन । यो सरकारले संविधान बनाउँछ भन्नेमा पनि अत्यन्तै कम विश्वास छ । माधवजीको सरकार दीर्घजीवी होस्, हामी कथित राष्ट्रिय सहमतिको सरकारको आहालमा चोभिन चाहन्नौँ । बाहिरै बसेर संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने काम गर्छौँ । हामी कुनै पनि हालतमा अपवित्र सरकारको आहालमा चोबलिन चाहन्नौँ ।........
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)