सभासद किन्न माओवादीको नयाँ प्रपंच
MNN Reporter Report | 4 Sep 2010 | Views: 105
सुदर्शन गिरी,काठमाडौं, भाद्र १९ ।काठमाडौं, भाद्र १९ । सरकारको नेतृत्व गर्न प्रति सभासद एक करोडका दरले पचास करोड चिनिया पक्षसंग सहयोग लिन माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महराले गरेको टेलिफोन वार्ता सार्वजनिक भएको छ ।
यता महराले प्रधानमन्त्री चुनाबमा सभासद किनबेचका लागि चिनियाँ अधिकारीसँग ५० करोड रुपैयाँ माग गरेको भन्ने समाचार आधारहिन र कपोलकल्पित भएको दाबी एक विज्ञप्ति मार्फत गरेका छन् । हिजो भारतीय समाचार माध्यम जी न्यूज़ले महरा र चिनिया अधिकारी सँग भएको टेलिफोन बार्तालाई प्रसारण गरेपछि सो कुरा बाहिर आएको हो ।
भारतीय मिडियामा यो टेलिफोन वार्ताको जोड तोडले प्रचार भैरहेको मिरर नेपालका लागि परशुराम काफ्लेले नयाँ दिल्लीबाट बताएका छन् । जी न्यूज र भारतबाटै प्रसारण हुने नेपाली च्यानल नेपाल वनले सो वार्तालाप निकै प्राथमिकताका साथ लगातार प्रसारण गरिरहेको छ ।
नेपालमा अधिकांश समाचार माध्यमले खासै प्रतिक्रिया नजनाए पनि नागरिक न्यूजले यस सम्बन्धि आज समाचार लेखेको छ । नागरिक न्यूजका अनुसार महरा र चिनयाँसबीच भनिएको कुराकानीबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । सो पत्रिकाले महराको जस्तै स्वरबाट चिनियाँ लवजका व्यक्तिसँग कुराकानी भएको प्रसारित रेकर्डमा सुनिएको र दुबै वार्ताकारको अंग्रेजी भाषा कमजोर भएको बताएको छ ।
टेलिफोन वार्ता भ्रामक - महरा
यता, वार्तालाप प्रकरण सार्वजनिक भएपछि हिजो राति नै एनेकपा अध्यक्ष प्रचन्डले महरालाई आफ्नो निवास नयाँ बजारमा बोलाएर यस सम्बन्धि जानकारी लिएका छन् । प्रचण्ड र महराबीच कुराकानी भए लगत्तै हिजो राति नै प्रेस वक्तव्य जारी गरी महराले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने र वर्तमान राजनैतिक निकासको लागि पार्टीले गरिरहेको सकारात्मक प्रयासलाई ध्वंस गर्ने सुनियोजित षडयन्त्र स्वरुप यस्तो समाचार आएको प्रतिक्रिया दिएका छन् ।
समाचारमा आफ्नो नाम जोडेर सुनाईएको सभासद खरिद बिक्री गर्ने उद्देश्यले चिनियाँ अधिकारीहरुसँग कुराकानी गरेको टेप कृत्रिम भएको महराको भनाइ छ । 'मेरो नाम जोडेर सुनाइएको चिनियाँ अधिकारीसँगको कुराकानी तथाकथित र कृत्रिम छ,' महराले भने, 'यो अडियो टेप विल्कुलै निराधारपूर्ण, भ्रामक र कपोलकल्पित छ ।'
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

