गभर्नरमा डा. युवराज खतिवडा नियुक्ति हुने सम्भावना

MNN Reporter Report | 23 Feb 2010 | Views: 105

सुदर्शन गिरी, काठमाडौं, फागुन १२ । पटक पटक विवादमा आएको मुलुककै ठूलो आर्थिक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर पदमा राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा. युवराज खतिवडा नियुक्ति हुने सम्भावना बढेको छ ।

राजनैतिक भागबण्डाका कारण पछिल्लो दुई मन्त्रिपरिषद बैठकमा गभर्नरको नाम सिफारिश भए पनि सहमति नभएकोले नियुक्ति भएको थिएन । 'काँग्रेसका तर्फबाट रायमाझीको पार्टीगत सिफारिश नआएकोले खतिवडा गभर्नर हुने सम्भावना देखिन्छ ।' प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । गभर्नरको टुङ्गो आज बस्ने मंत्री परिषद्को बैठकले लगाउने बताइएको छ ।

काँग्रेस तर्फबाट वर्तमान डेपुटी गभर्नर वीरविक्रम रायमाझीको बलियो सपोर्ट उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले गरेकी भए तापनि कोइरालाको आफ्नै पार्टीमा भइरहेको विरोधले काँग्रेसले यो महत्वपूर्ण पदको कोटा गुमाउने जस्तो देखिएको छ ।

काँग्रेसका अधिकांश सभासदहरु सुजाताको कुनै पनि नियुक्ति नितान्त व्यक्तिगत फाइदाको लागि हुने गरेको र त्यसमा पार्टीको कुनै सहमति आवश्यक नभएकोले उनको कामकारवाहीबाट रुष्ट हुने गरेका छन् ।

गएको हप्तासम्म उप-प्रधानमन्त्री कोइरालाले रायमाझीको सिफारिश गर्दै हिँडेपनि पछिल्लो समयमा रायमाझीलाई गभर्नर बनाउन माधव नेपालको नेतृत्वको सरकार तयार नभएको देखेपछि उनको लबिङ गर्न छोडेकी थिइन् । आफ्नो कुरा प्रधानमन्त्री तथा क्याबिनेटले सुन्न छोडेको भन्दै कोइरालाले सरकार पूर्णतः एमालेकरण भएको र एमाले नसच्चिए काँग्रेसले सरकार छाड्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएकी छिन् ।

उनले प्रधानमन्त्रीको मन्त्रीपरिषद बैठकमा केवल डा. युवराज खतिवडालाई गभर्नर बनाउने भन्ने ध्याउन्न रहेको बताएकी थिइन् ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेको नेतृत्वमा अर्थविद् भोला चालिसे र पूर्व गभर्नर गणेशबहादुर थापा सम्मिलित तीन सदस्यीय समितिले गत फागुन ४ गते तीन जनाको नाम सिफारिश गरेको थियो । सिफारिश हुनेमा क्रमशः युवराज खतिवडा, वीरबिक्रम रायमाझी र रामेश्वर खनाल छन् । खतिवडा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन्। रायमाझी बहालवाला डेपुटी गभर्नर हुन् भने खनाल अर्थ सचिव।

[comheader]Comments: 0[/comheader]

Leave a comment



redface razz cry surprised blink idea biggrin rolleyes mellow wink mad arrow cool question eek exclaim sad twisted 


[b]Bold[/b] [i]Italic[/i] [u]Underline[/u] [del]Linethrough[/del] [q]Quote[/q] [id]Image Description[/id]

  • Related News
  • Tag Clouds

Copyright © 2007 HR Nepal
Powered by HR Nepal