राष्ट्रपति जेठ १४ भित्रै संविधान बन्ने आशामा
MNN Reporter Report | 25 Feb 2010 | Views: 163
नेपालगन्ज, फागुन १३ । राष्ट्रपति रामवरण यादवले संविधान बनाउन अझै ३ महिनाको समय बाँकी रहेकोले दलहरुलाई मिलेर संविधान निर्माण कार्यमा अघि बढ्न आग्रह गरेका छन् । पत्रकार महासंघको केन्द्रीय साधारण सभाको नेपालगञ्जमा उदघाटन गर्दै राष्ट्रपतिले भने, ३ महिनाको अवधिको सदुपयोग गर्नुस् ।
ठूलो संघर्षपछि प्राप्त परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने चुनौति भएको बताउँदै उपलब्धिलाई संस्थागत गर्न पत्रकारहरुको पनि बढी भूमिका भएको उनले बताए ।
उनले भने, यसअघिका आन्दोलनमा देखिएको पत्रकारहरुको भूमिकाले अहिले पनि पत्रकारहरुको भूमिका बढी देखिरहेको छु ।
देशको स्वाधीनता, अखण्डता र एकताका लागि पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउँदै राष्ट्रपति यादवले भने, पहिले हामी नेपाली हौँ, अनि मात्र हिमाली, मधेशी, पहाडी हौँ। यसलाई केन्द्रबिन्दूमा राखेर कलम चलाउनु पर्छ। पत्रकारहरुसँग कलमको शक्ति रहेको बताउँदै उनले भने, 'मैले जति बुझ्छु, मलाई जति थाहा छ, त्यो म सबैलाई बाँड्न सक्दिन । तर तपाईँहरुसँग यस्तो कुरा बाँड्ने कलम छ ।'
उनले क्षेत्रीय, जातीय तथा विगतमा सुल्झन नसकेका समस्या अहिले उठिरहेका बताउँदै तिनलाई लोकतान्त्रिक बाटोबाट समाधान गर्न सकिने बताए । 'मानवअधिकार र शान्ति नबिथोलिकन यो समस्या व्यवस्थापन गर्न सकिन्छ', उनले भने ।
शान्ति, सहमति र संविधानमा जोड दिने पत्रकार महासंघको उद्देश्यमा सफलताका लागि राष्ट्रपति रामवरण यादवले शुभकामना दिए ।
यसअघि सूचना तथा सञ्चार मन्त्री शङ्कर पोखरेलले स्वतन्त्र र सक्षम प्रेसका लागि सरकार प्रतिबद्ध रहेको बताए। खासगरी गैरराज्य पक्षबाट पत्रकारमाथि भएका घटनाप्रति सरकार संवेदनशील रहँदै आएको पनि उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा शान्ति, सहमति र संविधान निर्माणका पक्षमा पत्रकारहरुको राष्ट्रिय सम्मेलन उदघाटन कार्यक्रममा मन्त्री पोखरेलले यो धारणा राखेका हुन्।
संविधान निर्माण र शान्ति स्थापना गर्ने कार्यमा यो सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले भने- नयाँ संविधानमा प्रेस स्वतन्त्रता कस्तो हुने भन्नेबारे पनि यो कार्यक्रमले राम्रो सुझाव दिन सक्छ।
दलहरु मिलेमा समयमै संविधान बन्छ भन्दै उनले थपे- अहिले सर्वसाधारणमा जेठ १४ भित्रै संविधान बन्छ कि बन्दैन भन्ने शङ्का छ, त्यो हटाउनुपर्छ ।
श्रोत: नागरिक समाचार
[comheader]Comments: 0[/comheader]
मुलुक आर्थिक सङ्कटतिर उन्मुख
MNN REPORTER Report | 25 Jan 2010 | Views: 331
काठमाडौँ । आर्थिक क्षेत्रसँग सम्बन्धित सरोकारवाला व्यक्तिले नेपालमा आर्थिक सङ्कट आउनसक्ने खतरा रहेको औंल्याएका छन् । अर्थ/वाणिज्य संग सम्बन्धित पत्रकारहरुको समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले अर्थतन्त्रमा नकारात्मक असरदेखा पर्दै गएकाले त्यसको समाधान छिटो गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालमा अहिले नै आर्थिक सङ्कटकोस्थिति देखा नपरे पनि आर्थिक सङ्कटका लक्षणहरू देखा परेको बताए ।
औद्योगिक वातावरणको स्थिति नभएको भन्दै डा. महतले नेपालबाट विदेशतिर हाल पूँजी पलायन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको माग संसारभर रहेको भन्दै जलविद्युतमा हुने गरेको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिइनु पर्ने बताए । आर्थिक क्षेत्रको सुधारको लागि तीनवर्षसम्म उद्योग क्षेत्रमा हड्ताललगायतका क्रियाकलाप नगर्ने प्रतिबद्धता राजनीतिक पार्टीले गर्नुपर्ने डा. महतको भनाइ थियो ।
अर्का वक्ता नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर कृष्णबहादुर मानन्धरले बैङ्कहरूले निक्षेपको तुलनामा बढी कर्जा लगानी गर्दा वित्तीय तरलता उत्पन्न भएको बताए । यो आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ ओटा वाणिज्य बैङ्कहरूले रु. १७ अर्ब निक्षेप सङ्कलन गरेर रु. ३६ अर्ब कर्जा लगानी गरेको जानकारी दिए ।
'विदेशी विनियम परिमाणमा ५० प्रतिशतले कमि आएको छ । बैङ्कहरूमा देखिएको तरलताले बैङ्कहरू कर्जाप्रवाह गर्न सक्ने स्थितिमा देखिएको छैन।' मानन्धरले भने ।
अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले एउटै मात्र आर्थिक क्रियाकलापमा भरपर्दा सङ्कट आउने बताउँदै विप्रेषण बाहेकका अन्य आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने बताए । पूंजीगत खर्च बढ्न नसकेको बताउँदै आचार्यले यसको कारण सार्वजनिक खरिद ऐन र आर्थिक कार्यविधि ऐन रहेको बताए । अर्को वर्षदेखि पूंजीगत खर्च बढ्ने उनको भनाई रहेको थियो ।
नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष शशिन जोशीले राष्ट्र बैङ्कले बजारमा रु.१५ अर्बको रिपो प्रवाह गर्दा समेत बजारमा रु.२० अर्बसम्मको तरलता अभाव देखिएको गुनासो गरे ।
बैङ्कहरूले राष्ट्र बैङ्कमा राखेको बचतको एकदेखि १.५ प्रतिशतसम्म नगद राख्दा पनि पर्याप्त भएकोमा हाल त्यसलाई तीन प्रतिशतसम्म राख्नुपर्नेस्थिति देखा परेको छ । राष्ट्र बैङ्कमा अहिले बैङ्कहरूको रु.६०० अर्ब बचत छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)