गभर्नर नियुक्तिमा विवाद कायमै
MNN Reporter Report | 25 Feb 2010 | Views: 224
डा. युवराज खतिवडा हुने प्रबल सम्भावना
काठमाडौँ, फागुन १४ । मुलुकको ठूलो आर्थिक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तिका बारेमा दलहरुबीच मतभेद कायमै छ । गभर्नर सिफारिश समितिले राष्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर वीरविक्रम रायमाझी, अर्थ मन्त्रालयका सचिव रामेश्वर खनाल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडालाई गभर्नर पदमा सिफारिश गरिएकोमा राजनैतिक भागबन्डाका कारण दुई सातादेखि नियुक्ति भएको थिएन ।
गभर्नरमा डा. युवराज खतिवडा नियुक्ति हुने पक्कापक्की भैसकेको छ । खतिवडा नियुक्ति भएपछि रिक्त हुने राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कांग्रेसको कोटाबाट भोला चालिसे नियुक्ति हुने बालुवाटार श्रोतको दाबी छ । चालिसे गभर्नर सिफारिश समितिका सदस्य हुन् ।
रायमाझीका लागि उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले लबिंग गरेको भए पनि नेपाली कांग्रेसको आधिकारिक सिफारिश नभएकोले उनलाई गभर्नर नियुक्ति गर्न नमिल्ने प्रधानमन्त्री नेपालले बताउंदै आएका थिए । पछिल्लो पटक रायमाझीलाई गभर्नर बनाउन अर्थ मंत्री सुरेन्द्र पाण्डे पनि प्रधानमन्त्री नेपालसँग बाझेका थिए ।
मन्त्री पाण्डेले राष्ट्र बैंक जाने बुझेको व्यक्ति नै गभर्नर हुने पर्ने अडान गर्दै राष्ट्र बैंकका कर्मचारीहरुको तीन वटै संगठनको रायमाझीप्रति समर्थन रहेको तर्क प्रधानमन्त्रीलाई प्रस्तुत गरेका थिए । तर गभर्नरमा केवल डा. युवराज खतिवडालाई मात्र नियुक्ति गर्नुपर्ने प्रधानमन्त्रीको आशय भएकोले उनको लिंडेढिपीको अगाडि अरु मन्त्रीहरु निरीह बनेको मन्त्री पाण्डेलाई उद्धृत गर्दै श्रोतहरुले जनाएका छन् ।
बुधवार ग्लोबल बैंकको बानेश्वर शाखा उद्घाटन गर्ने क्रममा बैंकका प्रमुख चन्द्र ढकालको जिज्ञासामा अर्थ मन्त्री पाण्डेले गभर्नरको नियुक्ति प्रधानमन्त्री नेपालको एकल चाहनामा हुन लागेको बताएका थिए । ढकालले बैंकर्सहरुको समर्थन खतिवडालाई भन्दा रायमाझीलाई भएको बताएका थिए । हरेक बुधवार हुने मन्त्रिपरिषदको बैठकमा प्रस्तुत हुने अजेण्डाहरु चांडै निर्णय हुने गरेको भएतापनि यो पटक गभर्नरको विवाद निकै चुलिएकोले निर्णय हुन ढिलो भएको हो ।
उता, बैंकर्सहरुको एक समूहले रायमाझीले पैसाको भरमा गभर्नरको नियुक्ति खोजेको बताएको छन् । श्रोतका अनुसार परराष्ट्र मन्त्री कोइरालालाई गभर्नरमा नियुक्ति गरिदिन रायमाझीले निकै ठूलो थैली बुझाएका छन् । 'उनले पछिल्लो समयमा अर्थ मन्त्रीलाई पनि अर्थ लाभको लालसा दिएको हुन सक्छ ।' श्रोतले भन्यो । डेपुटी गभर्नर रायमाझीको पदावधि एक वर्षमात्र भएकोले र उनलाई अवकाशपछि दिइने पेन्सनको कुरा लिएर विवाद भएको र सो विषयमा अख्तियारले छानबीन गरिरहेकोले रायमाझीले गभर्नर पदमा नियुक्त हुन जोडले बल लगाएको श्रोतको दाबी छ ।
तर, रायमाझीले यो कुराको खण्डन गरेका छन् । 'निस्वार्थ भावनाले राष्ट्र बैंकमा काम गरेको व्यक्तिलाई चरित्र हत्या गर्ने सुनियोजित षड्यन्त्र हो यो ।' रायमाझीलाई उद्धृत गर्दै श्रोतले बतायो । रायमाझी निकट श्रोतका अनुसार कहीं कसैलाई पैसा नदिइएको र लोभ देखाइएको छैन । 'गभर्नर हुन नदिन विपक्षीहरुको चाल र खतिवडालाई सेफल्यानल्डिंग गराउने यो चाल भनेर बुझ्नु पर्छ ।' श्रोतले भन्यो ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)