मलेशियामा नेपालीको आत्महत्या तीव्र
MNN Reporter Report | 28 Aug 2010 | Views: 58
क्वालालम्पुर, भाद्र १२ । हरेक हप्ताजसो नेपाली श्रमिकहरुको मृत्युका खबर सुनिने मलेसियामा पछिल्लो दिनमा आश्चर्यजनक ढंगले आत्महत्याका घटना बढ्न थालेका छन् । हरेक बर्ष सयौंको संख्यामा नेपालीको मृत्यु हुने भएपनि त्यसमध्ये अधिकांश सुतेको सुत्यै भएर वा दुर्घटनामा परेर मृत्यु हुने गरेका थिए । तर गएका दुई महिनाको अबधिमा मृत्यु भएका कुल नेपालीमध्ये करिव ५० प्रतिशतले आत्महत्या गरेका छन् ।
अधिकांशले आत्महत्याका बेला ‘सुसाइड नोट’ नलेखेकाले के कारणले आत्महत्या गरेको भन्ने यकिन हुन सक्दैन । तर अधिकांश अबस्थामा सोंचअनुसार कमाई गर्न नसक्नु, ज्यादै गाह्रो काम पर्नु, धेरै खर्च लाग्ने रोग लागेका कारण विक्षिप्त बन्नुमात्रै हैन मलेसियाकै प्रेमिकाले धोका दिएका कारण आत्महत्या गर्ने पनि भेटिएका छन् ।
गएको दुई महिनाको अन्तरालमा मात्र पर्वतका चित्रबहादुर गुरुङ, काठमाडौंका सुरेश मर्हजन, सप्तरीका पंकजकुमार रजक, रोल्पाका कर्णबहादुर घर्तिमगर, प्युठानका उद्धविर पुन तथा दाङका दामोदर घर्तीले ज्यान गुमाएका छन् । यस्तै यो हप्तामात्रै सुबाङमा दामोदर घर्तीले आत्महत्या गरेका छन् भने निलाईमा जंगबहादुर र इपोमा लिलबहादुरको सुतेकै अबस्थामा मृत्यु भएको छ ।
पहिलेको तुलनामा यतिवेला नेपाली श्रमिकहरुको अचानक मृत्यु र आत्महत्याको घटना बढेको गैरआवासीय नेपाली संघका कार्यवाहक सचिव सुन्दर आलेले बताए । पुराना व्यापारी मध्येका एक कर्मा दोर्जे गुरुङले मिरर नेपालसंग भने, ‘केहि वर्ष अगाडिसम्म नेपाली श्रमिकको मृत्यु भएको खबर हामीले छिटफुट रुपमा सुन्थ्यौं अहिले त यो ह्वातै बढेर गएको छ, यसबारेमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ ।’
कम्पनीवाट आईसकेपछि सुतेका श्रमिकहरु भोलीपल्ट नउठ्ने र आफ्ना साथीहरुले उठाउदा मृत्यु भैसकेको हुनेक्रम पछिल्ला दिनहरुमा बढ्दै जान थालेकाले त्यसलाई अनुसन्धान गर्नर् आफूहरु लागीपरिरहेको नेपाली दूतावासका श्रम सहचारी सूर्यप्रसाद भण्डारीले मिर्रर नेपाललाई बताए। हाल मृत्यु भएका श्रमिकमध्ये आधाजसो सुतेको सुत्यै मृत्यु भएको छ भने आधाजसोले झुण्डिएर आत्महत्या गरेका छन् । गत एक महिना अगाडि दुतावासले सार्वजनिक गरेको तथ्याङ्कमा ६ महिनाको अवधिमा ८१ जना नेपालीहरुले मलेसियामा ज्यान गुमाएको बताइएको छ । तुलनात्मकरुपले यो संख्या क्रमशः बढ्दै गैरहेको छ ।
(रामचन्द्र नेपालको सहयोगमा)
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

