कांग्रेस महाधिवेशन तयारी पूरा
MNN Reporter Report | 28 Aug 2010 | Views: 39
काठमाडौँ, भाद्र १२ । नेपाली कांग्रेसले १२ औँ महाधिवेशनको प्रारम्भिक तयारी पूरा भएको जनाएको छ । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले पार्टी केन्दीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएका हुन् ।
आगामी असोज १ देखि ५ गतेसम्म राजधानीमा हुने महाधिवेशनमा देशभरबाट ३ हजार ८८ जना भन्दा बढी प्रतिनिधिले भाग लिने सिटौलाले दाबी गरे ।
सिटौलाका अनुसार असोज १ गते काठमाण्डौको खुल्ला मञ्चमा हुने उद्घाटन सत्रमा ५ लाख कार्यकर्तालाई राजधानी उतार्ने योजना रहेको छ । बन्दसत्र भने भृकुटीमण्डपको प्रदर्शनी हलमा हुने सिटौलाले बताए ।
सिटौलाका अनुसार कांग्रेससँग हाल स्वदेशमा ३ लाख १२ हजार ४ सय ८३ र विदेशमा ५ हजार गरी ३ लाख १७ हजार भन्दा बढी क्रियाशील सदस्य रहेका छन् । ११ औं महाधिवेशनमा क्रियाशिल सदस्यता संख्या १ लाख ७९ हजार ९ सय १३ रहेको काङ्ग्रेसले जनाएको छ ।
महाधिवेशनको प्रारम्भिक तयारी पूरा भएको भन्दै सिटौलाले १२ औं महाधिवेशन वैचारिक र साँगठनिक रुपमा महत्वपूर्ण हुने पनि बताए ।
भक्तपुर कांग्रेसमा गणेशमान
भक्तपुर कांग्रेस सभापतिमा गणेशमान चक्रधर निर्वाचित भएका छन् ।
शनिबार भएको जिल्ला अधिवेसनमा चक्रधरले खसेको ३ सय ४४ मध्ये १ सय ८२ मत प्राप्त गर्नुभएको थियो । चक्रधर वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन ।
उनका प्रतिद्वन्द्वी महेश श्रेष्ठले भने १ सय ४३ मत ल्याएका थिए ।
यसैगरि सचिवमा जगनाथ कार्की, कोषाध्यक्षमा नारायण ख्यामुल निर्वाचित हुनुभएको छ ।
(Digg)
(Technorati)
(Blinklists)
(Del.icio.us)

