सिंगापुर पुलिसबाट १६ नेपालीहरु हटाइए
काठमाडौं,२७ असार । अंग्रेज सहकर्मीसरह तलब सुविधा माग गर्दै बिद्रोहमा उत्रिएपछि सिंगापुर पुलिस फोर्समा कार्यरत १६ जना नेपालीहरु बर्खास्तीमा परेका छन् । उनीहरुमाथि नेपाली र गोरा अफिसरहरूमाथि हातपात गरेको'आरोप छ ।
तीमध्ये आठ जना हिजो काठमाडौं आइपुगेका छन् । सिंगापुर सरकारका निम्ति ब्रिटिस गोर्खा अन्तर्गत रहने गरी सन् १९४९ अप्रिलमा गोर्खा कन्टिन्जेन्ट (जिसी) स्थापना गरिएको हो । हरेक वर्ष बेलायत र सिंगापुरका लागि नेपाली युवा भर्ती हुंदै आएका छन् । बेलायत सरकारले यी गोर्खालीलाई सिंगापुरको आन्तरिक सुरक्षामा खटाउंदै आएको छ ।
गत जेठ ३१ गते सिंगापुर पुलिस फोर्समा आयोजित एक बिदाइ कार्यक्रम नसकिंदै नेपाली र गोराहरूबीच विवाद उत्पन्न भएको थियो । नेपाली युवाहरूले आफ्नै नेपाली र अंग्रेज हाकिमहरूविरुद्ध आक्रमण गरेपछि १० दिन नपुग्दै एकाएक गरी कारबाही गरेको उनीहरूले बताए ।
बर्खास्त हुनेमा कर्पोरलद्वय इश्वर गुरुङ र शुकनारायण गुरुङ छन् । त्यस्तै सिपाहीमा अशोक राई, निरन राई, विजयकुमार गुरुङ, सोमबहादुर ठकुरी, उपदेश श्रेष्ठ र प्रवीण गुरुङ छन् । उनीहरू सन् १९९९ पछि भर्ती भएका हुन् । अन्य आठ जनालाई केही दिनभित्र नेपाल फर्काइने भएको छ ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिंगापुर पेन्सन एसोसियसनका केन्द्रीय पदाधिकारी र माओवादी सभासद समिता कार्कीले फूलमाला, खादा र अबिर पहिर्याएर स्वागत गरेका थिए ।
एसोसियसनका उपाध्यक्ष नेत्रप्रसाद गुरुङका अनुसार ब्रिटिस सरकार मातहतमा भर्ती भएका सिंगापुर पुलिस फोर्समा दुई हजार नेपाली कार्यरत छन् ।
|