मधेशवादी दलहरु संविधानसभा बैठकमा सहभागी नहुने

काठमाडौं,२८ असार । मधेशवादी दलहरु भोलि बस्ने संविधानसभा बैठकमा सहभागी नहुने भएका छन् । रिपोर्र्टर्स क्लब नेपालमा बोल्दै मधेशी जनअधिकार फोरमका संसदीय दलका नेता विजयकुमार गच्छेदारले आफूहरु सदनमै नजाने बताए ।

'हामी भोलि सदनमै जादैनौं,' संविधानसभा बैठक अवरुद्ध गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने,'राजनीतिक अन्यौल नरहोस् र बजेट प्रक्रिया अगाडि बढोस् भनेर दुइ कदम पछाडि हटेका हौं ।' उनले १६ फागुनमा सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको सहमति कार्यान्वयन नभएसम्म चुप नलाग्ने बताए । सदनको कारबाहीलाई फोरमका अलावा, तर्राई मधेश लोकतान्त्रिक पार्टी, सदभावनाका दुवै घटकसहित ६ वटा दल बहिष्कार गर्ने उनको भनाई थियो ।

साक्षात्कारमा गच्छेदारले एक मधेश एक प्रदेशको मुद्या छाडिसकेको बताए । आफूहरुले मधेश स्वायत्त प्रदेशको अडानलाई भने कुनै हालतले नछाड्ने बताए । उनले भने,'एक मधेश एक प्रदेश भनेका हैनौं, फागुन १६ गते सरकारसंग भएको सम्झौता कार्यान्वयन हुनर्ुपर्छ भनेका हौंं ।' आफूहरुले सम्झौताभन्दा भिन्न कुनै विषय नउठाएको बताए । मधेशको आवाजलाई संविधानसभाबाट टुंगोमा पुर्‍याउने ग्यारेन्टीका लागि आफूहरु सक्रिय भएको बताए । देश बिखण्डनमा लागेको आरोप लगाउनेहरु धमिलो पानीमा माछा मार्न प्रयत्नशील रहेको बताए । उनले भने,'हामी देशको अखण्डता र राष्ट्रिय एकताकै लागि सबै क्षेत्र, समुदाय, जाति, लिंग, समुदायका जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भनिरहेका छौं ।'

उनले मधेशी जनअधिकार फोरम नयां सरकारमा सहभागी नहुने बताए । माओवादी अध्यक्ष प्रचण्डले हिजोको भेटमा साथै अगाडि बढ्न आग्रह गरेको खुलासा समेत गरे । आफूहरु सरकारमा नबसी संविधान निर्माणमा सक्रिय हुने उनको भनाई थियो । माओवादीको नेतृत्वमा नयां सरकार गठन हुनुपर्ने भएपनि राष्ट्रपतिमा मधेशी चयन हुनुपर्ने बताए । उनले भने,' प्रमुख पदमा मधेशी, आदिवासी जनजाति, महिला, दलितमध्येबाट चयन गरेर मुलुकको राष्ट्रियता बलियो बनाउन शुरु गरौं ।' आफूहरु कुनै व्यक्ति विशेषको पक्षमा नरहेको तर मधेशीलाई राष्ट्रपति बनाउन प्राथमिकताका साथ लाग्ने बताए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला या अन्य कुनै नेताका पक्षमा सहमति भएपनि आपत्ती नहुने उनको भनाई थियो । तर सहमति र सहकार्यबाटै शक्तिबांडफांडको टुंगो लाग्नुपर्नेमा उनको जोड थियो ।

मधेशीहरुलाई जुधाउने खेलमा केही शक्तिकेन्द्रहरु लागेको उनको आरोप थियो । एमाले मधेशविरोधीका रुपमा प्रस्तुत भएको आरोप लगाउदै भने,'केही थारुलाई उचालेर एमालेले मधेशीसंग भिडाउने खेल खेलिरहेको छ ।' थारुको जुलुसमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति हुनेगरेको बताए । थारुका नाममा मधेशीसंग भिडाउने षड्यन्त्र भइरहेकाले सचेत हुन भन्दै थारु नेताहरुसंग छलफल अगाडि बढाएको बताए । मधेशलाई अधिकारसम्पन्न बनाउने सवालमा माओवादीसंग निकट रहेको बताए । नेपाली कांग्रेस भने मधेशको सवालमा अलमलिएको तर्क गरे ।



URL for news «मधेशवादी दलहरु संविधानसभा बैठकमा सहभागी नहुने»   -
«As Mirror reflects truth, Mirrornepal publishes True news of Nepal as it is with out any modification»   -