मधुसुधन सिलवालद्वारा निर्मित मनमा माया चलचित थि्रलर र सस्पेन्समा

काठमाडौं,११ साउन । तीन वर्षअघि निर्माण भई राजधानी बाहिर राम्रो व्यापार गर्न सफल चलचित्र मनमा माया आगामी साउन १० गतेबाट राजधानीका गुण, गोपी, कलंकी, गंगा, शिवदर्शनलगायत १४ वटा हलबाट प्रदर्शनमा आउने भएको छ।

चलचित्रमा राजेश हमाल, रमित ढुंगाना, करिश्मा मानन्धर, रेखा थापा, दिलीप गौतम, निर्मल शर्मा, राजेन्द्र खड्गी, रामचन्द्र अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्। मनमा मायामा निर्देशन मदन घिमिरेको र संगीत सुरेश अधिकारीको रहेको छ। आफ्ना अघिल्ला चलचित्रझैं सुरेशले यस चलचित्रमा सुमधुर संगीत दिएका छन्। चलचित्रका मेरा बादुरे, मौसम थियो बसन्त, सरसर साराङकोटको सिरेटोलगायतका गीतहरू पहिले नै हिट भइसकेका छन्। चलचित्रमा द्वन्द्व राजेन्द्र खड्गी र नृत्य निर्देशन बसन्त श्रेष्ठको रहेको छ।

निर्माता मधुसुधन सिलवालद्वारा निर्मित मनमा माया चलचित्र पारिवारिक सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। मनमा मायामा प्रेम र रोमान्स पनि त्यत्तिकै रहेको छ, जसले दर्शकलाई फिल्म
हेरिञ्जेल कुनै पट्यार लाग्दैन। चलचित्रको कथावस्तुले दर्शकलाई फिल्म समयावधिभरि बाँधेर राख्न सफल देखिन्छ। चलचित्रमा संसारमा सबैभन्दा ठूलो कुरा भनेको माया हो, यो कहिले पनि मर्दैन भन्ने सन्देश दिन खोजिएको छ। मनमा मायामा गरिबीका कारण छिन्नभिन्न भएका दुई दाजुभाइको कथावस्तुलाई सस्पेन्स र थि्रलरका माध्यमबाट चलचित्रलाई पूर्ण व्यावसायिक बनाइएको छ। आफूले निर्माण गरेको चलचित्र माया नमारबाट नायक बनेका रमित ढुंगानाले यस चलचित्रमा उत्कृष्ट अभिनय गरेका छन्।

त्यसैगरी सधैं एउटै गेटअप र हेयर स्टाइलमा देखिने नायक राजेश हमाल यस चलचित्रमा छोटो हेयर स्टाइलका साथ देखापरेका छन्। जसलाई दर्शकहरूले मन पराएको पाइयो। खाली डाइलग र एक्शनमा मात्र जम्ने हमालले यस चलचित्रमा अभिनयका माध्यमबाट दर्शकको मन जित्न सफल भएको देख्न सकिन्छ।

त्यसैगरी, लामो समयपछि पर्दामा देखिएकी नायिका करिश्मा मानन्धरको क्रेज उस्तै रहेको भान हुन्छ। हाल अमेरिकामा रहेकी करिश्मा चाँडै नेपालमै रहने गरी फर्किंदैछिन। नायिका रेखा थापाको चञ्चले भूमिका र आकर्षक ग्ल्यामरबाट दर्शकले भरपूर मनोरञ्जन लिन सक्छन्। चलचित्रमा पाँच वर्षे बालिका दिव्या उप्रेतीको सशक्त अभिनयले सबैको मन जिते आशा गर्न सकिन्छ।



URL for news «मधुसुधन सिलवालद्वारा निर्मित मनमा माया चलचित थि्रलर र सस्पेन्समा»   -
«Latest News of Nepal: mirrorNepal.com»   -