माओवादीको भारत नीति

संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल वनेको माओवादीले निर्वाचनलगत्तैदेखि बिदेशी शक्ति खासगरी भारतसँग सम्बन्ध सुधार्न भरपूर प्रयास अघि बढाएको छ । पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको माओवादीले सरकार बनाउन तथा टिकाउन भारतको समर्थन अनिवार्य रहेको बुझेरै उसँग सम्बन्ध सुधार्न प्रयास गरिरहेको सहज बुझ्न सकिने कुरा हो । निर्वाचनको प्रारम्भीक परिणाम आउन सुरु हुनासाथ माओवादी अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालका लागि भारतका तत्कालिन राजदुत शिवशंकर मुखर्जीसँग पटक पटक भेटेर भारतसँग बलियो सम्बन्ध बनाउने पार्टीको रणनीतिको खुलाशा गरेका थिए ।

नेपालको राजनीतिमा भारतको आर्शिवादको महत्वपूर्ण भूमिका इतिहासमा मात्र नभएर २०४८ सालदेखि २०६३ सम्मका सरकार संचालन तथा परिवर्तनहरुले पनि पुष्टि गरिसकेका छन् । राजनीतिको यो पाटोलाई राम्ररी बुझेर नै माओवादीले भारतसँग सम्बन्ध सुधार्न आफ्नो परम्परागत नीति परिवर्तन गर्न थालेको पछिल्ला घटनाहरुले स्पष्ट पारेका छन् । भारतको दैनिक पत्रिका 'द हिन्दु' सँगको पछिल्लो अन्तवार्तामा माओवादी अध्यक्ष प्रचण्डले भनेका छन,-"भारतको सहयोगविना नेपालको स्थायित्व, प्रगती र आर्थिक विकास सम्भव छैन ।" अन्तवार्तामा प्रचण्डले भारतको तिब्रतर आर्थिक विकासबाट नेपालले फाइदा उठाउनुपर्ने धारणा पनि ब्यक्त गरेका छन् । प्रचण्डको यो भनाइले २०५२ फागुन १ गते जनयुद्ध शुरु गर्नुअघि तत्कालिन सरकारसँग सन् १९५० को भारत र नेपालबीच सन्धी खारेज गर्नुपर्ने माग राखेको माओवादीको अडान परिवर्तन भएको स्पष्ट पार्छ । अहिले माओवादी नेताहरुले उक्त सन्धी खारेज गर्नुपर्ने माग गर्न छाडेका छन्, संशोधन गर्नुपर्ने मात्र बताउन थालेका छन् ।

चुनावबाट प्रमुख राजनीतिक दल बनेको माओवादीप्रति भारत पनि सकारात्मक नै देखिएको छ । भारतका पूर्व विदेशसचिव श्यामशरणले संचारमाध्यमहरुसँगको कुराकानीमा नेपाल र भारतकावीचको सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सहमति नेपाल र भारतबीच सन् २००१ मा नै भईसकेको वताएका छन् र सन्धीबारे भारत सरकार र माओवादीबीच मतभेद नरहेको तथा नरहने स्पष्ट पारेका छन् । यस्तै, जनयुद्ध थाल्दा तथा जनयुद्धको क्रममा भारतसँगको खुला सिमा बन्द गर्नुपर्ने माग गर्ने माओवादी नेताहरुले अहिले आफ्नो भनाइ फेरीसकेका छन् । दुई देशबीचको सिमा ब्यवस्थित गर्नुपर्ने मात्र अहिले माओवादी नेताहरुको माग छ ।

त्यसो त, सात दल र माओवादीबीच भारतको नयाँ दिल्लीमा भएको १२ वुँदे समझदारीदेखि नै भारत-माओवादी सम्बन्ध सुध्रन थालेको हो । त्यस यता दुई पक्षबीच सम्बन्ध सुधार हुँदै गएको प्रमाण 'सात पल्ट भारतिय दुतावास गयौं तर अन्तिम पटक एम्बुसमा पर्‍यौं' भन्ने प्रचण्डको अभिब्यक्तिले पनि दिएको थियो । यसैगरी, जनयुद्धका बेला सिमाना अतिक्रमणको कुरा चर्कोरुपमा उठाउने माओवादीले त्यसो गर्न छाड्नुले पनि भारत र उबीच सम्बन्ध सुध्रिदै गरेको संकेत दिन्छ । भारतसँग सम्बन्ध सुधार भए अमेरिका र पश्चिमा मुलुकहरु पनि आफू र आफ्नो सरकारलाई समर्थन गर्न वाध्य हुने निश्कर्षमा माओवादी रहेको बताइन्छ । नेपालसम्बन्धी सबै नीति भारतीय आँखाबाट अमेरिकाले तय गर्ने कुरा बुझेकैले माओवादीले त्यस्तो निश्कर्ष निकालेको बुझ्न गाह्रो छैन ।
-----कमलदेव भट्टराई



URL for news «माओवादीको भारत नीति»   -
«As Mirro reflects truth, Mirrornepal publishes True news of Nepal as it is with out any modification»   -