जनकपुरमा निजामति कर्मचारीको गोली प्रहार गरी हत्या
काठमाडौं, ३० मंसिर । जनकपुरमा सोमबार बिहान निजामति कर्मचारी कुमार निरौलाको हत्या भएको छ । कर कार्यालयका नायब सुब्बा निरौलालाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । हत्याको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले जिम्मेवारी लिएको छ ।
बिहान १०.३० बजेतिर निवासबाट अफिस जाँदै गर्दा निरौलामाथि स्थानीय पिठारीचोकमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । पेटमा गोली लागेको निरौलाको घटनास्थलमै मृत्यु भएको थियो । यसैबीच जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले हत्याको जिम्मेवारी लिएको छ । सो समूहका एरिया कमाण्डर अविनाश मुक्तिले स्थानीय संचारकममीहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका हुन् । पार्टीको नीतिविपरीत काम गरेकाले उनको हत्या गरिएको दावी सो समूहले गरेको छ ।
|