अमेरिकी राष्ट्रपति बुसमाथि जुत्ता प्रहार

काठमाडौं, ३० मंसिर । अचानक इराक पुगेका अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि पत्रकार सम्मेलन चलिरहेका बेला एक पत्रकारले जुत्ता प्रहार गरेका छन् । राष्ट्रपतिका रुपमा इराकको अन्तिम भ्रमणमा पुगेका बुसमाथि एक पत्रकारले जुत्ता प्रहार गरेका हुन् ।

इराकी प्रधानमन्त्रीका साथ उनले नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यसमा अमेरिकी सेना सन् २०११ सम्म इराकबाट हट्ने व्यवस्था गरिएको छ । जुत्ता प्रहारको घटना जर्ज बुस इराकी प्रधानमन्त्री नुरी अल मलिकीका साथ पत्रकार सम्मेलनमा थिए । इराकी टेलिभिजन पत्रकार मुन्तदार अल जैदीले गाली गर्दै बुसमाथि जुत्ता प्रहार गरेका थिए ।

जैदीले बुसमाथि दुई पटक जुत्ता प्रहार गरेका थिए तर बुसले छलेर बचेका थिए । पहिलो पटक जुत्ता प्रहार गर्दा जैदीले यो इराकी नागरिकको तर्फबाट तपाईलाई अन्तिम सलाम हो भनेका थिए । दोस्रो पटक जुत्ता प्रहार गर्दा जैदीले चिच्याउँदै यो इराकी विधवा, अनाथ र मारिएका सबै नागरिकका लागि हो भनेका थिए ।

सुरक्षाकर्मीले पत्रकार मुन्तदार अल जैदीलाई नियन्त्रणमा लिएका छन् । उनी मिश्रस्थित च्यानल अल बगदादिया टीभीका लागि कार्यरत रहेका छन् । अरब मुलुकमा कसैलाई जुत्ता देखाउनु अत्यन्तै अपमानजनक मानिन्छ । यद्यपि जर्जबुसले जुत्ता प्रहारप्रति प्रतिक्रिया दिदै मैले आफ्नो कार्यकालमा कैयौ पटक यसप्रकारको अजिव घटना देखेको छु भन्दै यो अरुको ध्यान आकर्षित गर्ने तरिका थियो भने ।

जुत्ता प्रहारपछि ठट्ठा गर्दै बुसले भने, तपाईहरुलाई थाहा छ त्यो जुत्ताको साइज दश थियो । आकस्मिक रुपमा इराक पुगेका राष्ट्रपति बुसको इराक भ्रमण जुत्ता प्रहारपछि ओझेलमा परेको छ । उनी इराकपछि अफगानिस्तान पुगेका छन् ।



URL for news «अमेरिकी राष्ट्रपति बुसमाथि जुत्ता प्रहार»   -
«Latest News of Nepal: mirrorNepal.com»   -