म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी ३-१ ले पराजित

काठमाडौं, साउन २४ । म्यानचेस्टर युनाइटेडले आइतबार चेल्सीलाई ३-१ ले पराजित गर्दै कम्युनिटी सिल्डको उपाधि जितेको छ। कार्लो एन्सेलोटीले लन्डन टोली सम्हालेयता म्यानचेस्टरको चेल्सीमाथि यो पहिलो विजय हो ।

गत सिजनमै टोलीको बागडोर हेरेपछि एन्सेलोटीको चेल्सीले म्यानचेस्टरलाई घर र 'अवे' मा पराजित गरी इङ्लिस प्रिमियर लिग र एफए कपका जित्नुका साथै कम्युनिटी सिल्डमा पनि हराएको थियो।

तर सदाबहार मिडफिल्डर पाउल स्कोल्सले प्रेरणादायी प्रदर्शन गरेपछि चेल्सीले आइतबार म्यानचेस्टरलाई कुनै जवाफ फर्काउन सकेन। वेम्बलीमा उपस्थित झन्डै ८५ हजार दर्शकमध्ये धेरैले इङ्ल्यान्डका विश्वकप फ्लप स्टारहरूको हुटिङ गरेका थिए।

दक्षिण अफ्रिकामा पूरै असफल रहेका वाइन रुनीको पासमा एन्टोनियो भ्यालेन्सियाले ४१औं मिनेटमा म्यानचेस्टरको खाता खोले। मध्यान्तरमा मैदानमा प्रवेश गरेका म्यानचेस्टरका नयाँ अनुबन्धित हाभियर हर्नान्डेजले दोस्रो गोल गरे। सानदार प्रदर्शन गरेका म्यानचेस्टरका गोलरक्षक इडविन भान डेर सारलाई पार गर्न चेल्सीलाई गाह्रो परेको थियो। बैकल्पिक डानिइल स्टुरिजको प्रहारलाई एक हातले रोके पनि त्यसैमा सालोमान कालोउले गोल गरी चेल्सीलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

तर नानीको पासमा वैकल्पिक डिमिटार बेर्बाटोभले खेलको अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टरले विजय निश्चित गरेको थियो। अर्को हप्ता सुरु हुने प्रिमियर लिगमा म्यानचेस्टरलाई यो विजयले ठूलो प्रेरणा मिल्ने अनुमान गरिएको छ। प्रिमियर लिग सुरु हुन एक हप्ताअगाडि गत वर्षको लिग विजेता र एफए कप विजेताबीच कम्युनिटी सिल्ड खेल्ने इङ्लिस परम्परा छ।

गत वर्ष चेल्सीले दुवै उपाधि जिते पनि म्यानचेस्टर लिगमा दोस्रो भएका कारण शनिबार खेल्न पाएको हो।



URL for news «म्यानचेस्टर युनाइटेडद्वारा चेल्सी ३-१ ले पराजित»   -
«News of Nepal, Hot News of Nepal, Latest News of Nepal: mirrorNepal.com»   -