दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स अझै फेला परेन
काठमाडौं, भाद्र १३ । चार दिनअघि मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दुर्घटनाग्रस्त अग्नि एयरको डोनियर क्राफ्ट विमानको ब्ल्याक बक्स अझै भेटिएको छैन । विमान दुर्घटनाको कारण पत्ता लगाउने ब्ल्याक बक्स नै एकमात्र भरपर्दो प्रमाण हो ।
घटनास्थलमा प्रहरी टोलीले ब्ल्याक बक्स खोजी जारी राखे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक गौतमराज कट्टेलले जानकारी दिए ।
दुर्घटना चाँजबुझ गर्न गठित समितिले विमानको ब्ल्याक बक्स फेला पार्ने व्यक्ति वा संस्थालाई ५० हजार पुरुस्कार दिने घोषणा गरेको छ । आयोगका प्रवक्ता सुरेश आचार्यका अनुसार ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुवै भेट्नेलाई ५० हजार र दुईमध्ये एक भेट्नेलाई २५ हजार पुरुस्कार दिइने छ ।
ब्ल्याक बक्स भित्र रहने यी दुई उपकरणले दुर्घटना हुनुपूर्वको विमानको अवस्थाबारे जानकारी दिने गर्दछन् ।
गएको मंगलबार काठमाडौंबाट लुक्लाको लागि उडेको सो विमान खराब मौसमका कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्कने क्रममा शिखरपुरमा दुर्घटना भएको थियो । दुर्घटनामा ६ नेपाली र ८ विदेशीसहित १४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनास्थल दुर्गन्धित यसैबीच घटनास्थलमा बाँकी रहेका शवका टुक्राले दुर्गन्ध बढेको छ । घटनास्थलको सुरक्षाका लागि खटिएका सात जना प्रहरी पनि दुर्गन्धका कारण विरामी परेको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । दुर्गन्धले गाउँमा रोगको महामारी फैलनसक्ने त्रास बढेको स्थानीय चिजलाल श्रेष्ठले जानकारी दिए ।
|