महाकाली नदी तटबन्ध भत्काउँदै बस्तीमा

काठमाडौं, भाद्र ६ । महाकाली नदीको बाढी कन्चनपुरको भीमदत्त नगरपालिका ११ मा तटबन्ध भत्काउँदै बस्तीमा पसेको छ । अस्थायी तटबन्ध गएराति बाढीले बगाएपछि नगरपालिकाका ११, १२, १४ र १६ का वडाबासी उच्च जोखिममा परेका छन् ।

शुक्रबार कटान भएको स्थानमा हिँजो राखिएको तारजाली बगाएर आसपासका खेत कटान गर्दै बाढी बस्तीमा पसेको हो । स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न गएरातिदेखि नै सेना र प्रहरीको टोली खटिएको कन्चनपुर प्रहरीले जनाएको छ ।

कटान तीब्र भएकोले फेरि तटबन्ध निर्माण गर्न असम्भव भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । पानीको बहाव तीव्र भएकोले बाढी रोक्ने सबै प्रयास असफल भएकोले जतिबेला पनि जेसुकै हुने खतरा रहेको कार्यालयले बताएको छ । तत्काल स्थानीयलाई सुरक्षित स्थानमा सार्नुको विकल्प नभएको स्थानीय प्रशासनले बताएको छ ।

यसैबीच बाढीको जोखिम बढ्दै गएपछि उद्धार तथा राहतको लागि छलफल गर्न जिल्लामा क्रियाशील राजनीतिक दल, विभिन्न सरकारी कार्यालयका प्राविधिक, जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिका पदाधिकारीहरुको आकस्मीक बैठक बोलाइएको छ ।



URL for news «महाकाली नदी तटबन्ध भत्काउँदै बस्तीमा»   -
«News of Nepal, Hot News of Nepal, Latest News of Nepal: mirrorNepal.com»   -