काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा नचुक्न भन्दै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन् ।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका चुनावमा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयसम्बन्धी कमजोरी अब दोहोरिन नदिन स्पष्ट निर्देशन दिइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढंगले काम गर्नुहोस् ।’
उनले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् ।
साथै, जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन र सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन हुने वातावरण बनाउन अन्य सुरक्षा निकायसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न आग्रह गरिन् ।
बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा पृतनापतिहरूको सहभागिता रहेको थियो । सो अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्यसहित समग्र सुरक्षा व्यवस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति प्रस्तुत गर्नुका साथै हालसम्म सम्पादन गरिएका कार्यहरूको समीक्षा, सुझाव र समसामयिक विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन् ।
तपाईको बिचार