समाजवादको नयाँ यात्रा रुकुम पूर्वबाट सुरु गर्ने प्रचण्डको संकल्प - MirrorNepal.com

समाजवादको नयाँ यात्रा रुकुम पूर्वबाट सुरु गर्ने प्रचण्डको संकल्प


  • Mirror Nepal १ फागुन २०८२, शुक्रवार १५:३०:४७

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुम पूर्वबाट शुभकामना व्यक्त गरेका छन् । संयोजक प्रचण्डले ३१औँ जनयुद्ध दिवसका अवसरमा सशस्त्र क्रान्तिको उद्गमस्थल रुकुम पूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प गरेका छन् ।

जनयुद्ध सुरु भएको ठीक ३० वर्ष पूरा भएको ऐतिहासिक घडीमा रुकुम पूर्व पुगेका उनले यहाँका जनताको उत्प्रेरणाबाट आफूले नयाँ ऊर्जा प्राप्त गरेको बताएका हुन् । सशस्त्र युद्धको स्मृति ताजा गर्दै आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे ।

उनले भने -‘यहाँका गरिब, महिला र आदिवासी जनजातिले रगत नबगाएको भए हामी आज समावेशी र समानुपातिक गणतन्त्रमा हुने थिएनौँ,’ उनले भने, ‘यस वर्षको जनयुद्ध दिवस मेरो लागि विशेष छ । रुकुम पूर्वमा आउँदा म उद्वेलित भएको छु, जनयुद्धकै जस्तो दृढता र नयाँ ऊर्जासहित अब समाजवादको यात्रामा अघि बढ्नेछौँ ।’

मुलुकको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको चर्चा गर्दै प्रचण्डले २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ मै गर्नुपर्ने अवस्था सिर्जना हुनुले देश कठिन मोडमा रहेको संकेत गरेको बताए । उनले यस्तो संकटको घडीमा जनयुद्धकालीन प्रेरणाबाट शिक्षा लिँदै राष्ट्र र राष्ट्रियताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

उनले नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षाका लागि नयाँ अभियान सञ्चालन गर्ने उद्घोष समेत गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरिब, महिला तथा आदिवासी जनजातिको योगदान निर्णायक रहेको उल्लेख गरे ।

१० वर्षसम्म चलेको सशस्त्र युद्धको स्मरणमा नेकपाले रुकुम पूर्वको भूमे गाउँपालिका-२, खाबाङ बगरमा विशेष कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा प्रचण्डले २ सय ५२ शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम छ । संघीयतापछि बनेको ‘कान्छो जिल्ला’ रुकुम पूर्वबाटै प्रचण्ड आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार समेत छन् ।

प्रचण्डले राष्ट्रको वर्तमान परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख समेत गरे । २०८४ सालमा गर्ने भनिएको निर्वाचन २०८२ सालमै गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै उनले देश कठिन मोडबाट अगाडि बढेको धारणा राखे ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट, रोल्पाको होलरी, सिन्धुलीगढी र गोरखाको च्याङ्लीमा आक्रमण गर्दै युद्धको सुरुवात गरेको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर