दुई तिहाइको दम्भले मुलुक संकटमा : अध्यक्ष यादव - MirrorNepal.com

दुई तिहाइको दम्भले मुलुक संकटमा : अध्यक्ष यादव


  • Mirror Nepal १ फागुन २०८२, शनिबार २१:३०:१२

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थिति सिर्जना भएको आरोप लगाएका छन् ।

अध्यक्ष यादवले मुलुकको विद्यमान राजनीतिक अस्थिरता, आर्थिक जर्जरता र सामाजिक विभेदको मुख्य कारण वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।

दुई तिहाइ बहुमतको दम्भ बोकेका ठूला दलहरूको अकर्मण्यता र डिजिटल युगको पदचाप बुझ्न नसक्ने अनुदारवादी सोचका कारण मुलुक गम्भीर संकटमा फसेको टिप्पणी गरे । उनले अब संविधानको परिमार्जन मात्र नभई पुनर्लेखन नै गरेर ‘इन्द्रेणी राष्ट्रवाद’का आधारमा अघि बढ्नुपर्नेमा जोड दिए ।

जेन-जी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चुनाव गरेको भए आगामी संसद थप प्रभावकारी हुने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । यादवले जे-जस्तो परिस्थिति भएपनि चुनाव नजिकिँदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा लोकतन्त्र जोगिए पनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उनले बताए । उनले अव शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राखे ।

उनले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानविन लगायतका बिषयमालाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार संसारभर फैलिएको डिजिटल इनोभेसनको प्रभाव नेपालमा पनि पर्‍यो, जसले नेपाली युवाहरूलाई आफ्ना कुरा विश्वव्यापी रूपमा पुर्‍याउने शक्ति दियो । सोसल मिडियाको प्रयोगले सचेत भएका युवाहरूले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्दै आवाज उठाउन थालेपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार अत्तालिएको उनको विश्लेषण छ । दुई तिहाइको दम्भमा रहेको सरकारले ती आवाजहरूलाई रोक्न सामाजिक सञ्जाल नियन्त्रण गर्ने प्रयास गर्‍यो । जसले उल्टै आक्रोश जन्मायो र अन्ततः राज्यले हिंसाको बाटो रोज्यो ।

तत्कालीन सरकारले संविधान र संसदको रक्षा गर्न नसकेको र प्रधानमन्त्री स्वयंलाई सेनाले हेलिकप्टरबाट उद्धार गर्नुपर्ने स्थिति आउनु लोकतन्त्रका लागि लज्जास्पद विषय भएको उनले बताए । संविधानभन्दा बाहिरबाट सरकार बन्ने र संसद् भंग हुने जस्ता घटनाले दुई तिहाइको दम्भ कति खोक्रो थियो भन्ने पुष्टि गरेको उनको भनाइ छ । ८४ को चुनाव ८२ मै गर्नुपर्ने अवस्था आउनु ती दलहरूको असफलता र अदूरदर्शिताको परिणाम भएको दाबी गरे ।

नेपालमा ‘वेस्टमिन्स्टर मोडेल’ असफल भइसकेको दाबी गर्दै यादवले ३० वर्षमा ३५ वटा सरकार बदलिने अस्थिरताको अन्त्यका लागि शासकीय स्वरूप बदल्नुपर्ने बताए । खिचडी निर्वाचन प्रणाली अत्यन्त महँगो र विकृतिपूर्ण भएकाले यसलाई परिमार्जन गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘न्याय प्रणाली पनि एकात्मक र केन्द्रीकृत छ, १८–१९ जना न्यायाधीशले २५ हजार मुद्दा कहिले छिन्ने ? न्याय अहिले महँगो र पहुँचबाहिर छ, यसको ढाँचा नै परिवर्तन गर्नुपर्छ ।’

तपाईको बिचार

सम्बन्धित खबर