काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू अब मधेशको संस्कारसँग अपरिचित नरहेको बताएका छन् । शनिबार सर्लाही–४ रामनगरमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पहिले मधेश आउँदा नयाँ लागेको भए पनि अहिले मधेशी परिवारको हिस्सा बन्दै गएको बताए ।
सभापति थापाले भने, ‘सुरुमा यहाँ गाउँ, ठाउँ, पहिरन र खानासमेत नयाँ लागे पनि अब आफू यही परिवारको सदस्य बन्दै गएको अनुभव भएको छ । मधेशसँग नाता जोड्ने उद्देश्य लिएरै आफू यहाँ आएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका सभापति बनेपछि काठमाडौंमा चुनाव जित्न सजिलो भए पनि देश बनाउने जिम्मेवारीका लागि मधेश आएको उनले बताए । थापाले कांग्रेसका नेता बीपी कोइरालाको उदाहरण दिँदै २०३६ सालको जनमत संग्रहपछि मधेशका नागरिकलाई नागरिकता दिनुपर्ने कुरा बीपीले जोड दिएको स्मरण गरे ।
थापाले आफू चुनाव लड्न मधेश आउँदा सुरुमा आगन्तुकजस्तो देखिए पनि अहिले मधेशी परिवारको अंग बन्ने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘म यहाँ आउँदै गर्दाखेरी आगन्तुकजस्तो भएर आएको छु । गाउँ नयाँ, ठाउँ नयाँ, धेरै कुरा नयाँ छ । पहिरन नयाँ, खाना नयाँ,’ उनले भने, ‘तर यो मेरो र म यो परिवारको अंग बन्ने क्रम सुरु भइसक्यो । किनकि म त्यो नाता जोड्छु भनेरै आएको हो ।’
निर्वाचन जित्नकै लागि आफूलाई काठमाडौंबाट सर्लाही आउनुपर्ने बाध्यता नभएको उनले दोहोर्याए। ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए । तर, म यहाँ केही नयाँ सोच ल्याएर आएको हुँ,’ उनले भने। सभापति बनेपछि मधेशबाटै जितेर आउनुपर्ने आवश्यकता महसुस भएकाले उम्मेदवारी दिएको उनको भनाइ थियो ।
उनले नेपाली कांग्रेसको इतिहास स्मरण गर्दै बिपी कोइरालाले २०३६ सालको जनमतसंग्रहपछि राजाले गठन गरेको संशोधन समितिलाई सुझाव दिने निर्णय गरेको प्रसंग उल्लेख गरे। ‘कांग्रेसको हुटहुटी नै त्यसमा छ । नेपाली कांग्रेसका नेता बिपी कोइरालाले २०३६ सालको जनमत संग्रहपछाडि जब हामी हार्यौँ । त्यसपछि राजाले बनाएको संशोधन समितिलाई सुझाव दिने कि नदिने भनेर निर्णय गर्दा बिपीले दिने भनेर निर्णय गर्नुभएको रहेछ,’ उनले भने।
उक्त सुझावका तीन बुँदामध्ये पहिलो बुँदामै मधेशका नागरिकलाई नागरिकता दिनुपर्ने विषय समेटिएको उनले बताए। ‘त्यसैले मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो । यसकारण कांग्रेसको नेतृत्व नै कांग्रेसले गर्नुपर्ने हो । कांग्रेसको जरै यही छ,’ उनले भने।
कांग्रेस मधेशमा मजबुत बन्नुपर्छ भन्ने सोचका साथ आफू सर्लाहीबाट उम्मेदवार बनेको थापाको भनाइ छ ।
तपाईको बिचार