काठमाडौं । रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिसभा सदस्यमा श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले सोमबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफू जसपा परित्याग गरी एमाले प्रवेश गरेको जानकारी दिएका हुन् ।
उनले भने, ‘उम्मेदवारी दर्ता गरी जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताको मनोभावना एमाले भन्दा अरू देखिएन, पछिल्लो समय राष्ट्रियता कमजोर बनिरहेको अवस्थामा राष्ट्रियताको विषयमा पनि एमाले नै महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गर्ने निर्णय गरेको हुँ ।’
पत्रकार सम्मेलनपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आजैका दिनदेखि जसपा परित्याग गरी एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै एमालेका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न लाग्ने बताए ।
‘देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारी समेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
तपाईको बिचार