देश निर्वाचनमय, दल र उम्मेदवार निर्वाचन क्षेत्रमा फर्किए - MirrorNepal.com

देश निर्वाचनमय, दल र उम्मेदवार निर्वाचन क्षेत्रमा फर्किए


  • Mirror Nepal ४ फागुन २०८२, मङ्गलबार १३:२२:४९

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचार-प्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि १८ फागुनसम्म निर्वाचनलाई दृष्टिगत गरी जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय भएको हो।

आइतबारसम्म घरदैलो कार्यक्रम र सीमित क्षेत्रमा निर्वाचन प्रचार-प्रसार सभामार्फत आफ्ना मुद्दा मतदातालाई बुझाइरहेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सोमबारदेखि जनसभा गरेर निर्वाचन प्रचार-प्रसार तीव्र रुपमा अगाडि बढाएका छन् । निर्वाचन आयोगले सभ्य रुपमा चुनाव प्रचार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।

विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित ६८ वटा राजनीतिक दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।

नयाँ, पुराना दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार १६५ क्षेत्रमा ३, ४८४ उम्मेदवार छन् । स्वतन्त्रतर्फ एक हजार १८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि बदलिएको देशको परिस्थितिलाई समालेर अगाडि बढ्ने उद्देश्य र अठोटका साथ निर्वाचनमा होमिएका दलहरू आफ्नो पक्षमा माहोल बनाउन प्रयत्नरत छन् । उम्मेदवारहरू मतदाताका मुद्दा बुझ्दै मत माग्न व्यस्त छन् ।

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका केही दलले घोषणापत्र सार्वजनिक गरे पनि केही दल घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । मंगलबारदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्बन्धित प्रदेशमा ढुवानी गरिने उनले बताए ।

प्रबन्ध निर्देशक पौडेलले भने, “प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ कार्य सोमबार साँझबाट सम्पन्न गरेका छौँ । ४२ दिनको कार्यतालिका लिएर छपाइ सुरु गरिएकामा ४० दिनमै सम्पन्न गर्न सफल भयौँ । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्‍याउँछौँ ।”

केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ सकेर आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र जिल्लामा पठाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदूरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।

राजनीतिक दलहरुको चुनाबी कार्यक्रम, सरकारको निर्वाचनको लागि तयारी साथै निर्वाचन आयोगको भूमिका हेर्दा मुलुक अब चुनावमय हुँदै गएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर