काठमाडाैं। महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो। मंगलबार बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो।
नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई ५ सय ५१ रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गर्न लागिएको संस्थानका प्रवक्ता जनक पोखरेलले जानकारी दिए।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहित साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा छ। संस्थानले दिएको दक्षिणामा आधा रकम कोषले पनि थपेर नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरिने कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीले बताए।
बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो। रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएकाे थियाे।
जसमा कार्ड बाँडिएका मध्ये रातो कार्ड भएका साधुसन्तलाई ११ हजार, प्याजी कार्ड भएका साधुसन्तलाई ६ हजार, निलाे ४ हजार, पहेंलाे २५ सय, हरियाे ११ सय, गुलाबि ५५१,सेताे कार्ड भएकालाई २०० रूपैयाँ दक्षिणा साधुसन्तलाई प्रदान गरिएकाे छ।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने र धुनी बाल्ने दाउरा पनि उपलब्ध गराउने चलन छ।
नागा बाबासहितका साधुसन्तलाई बिदाइ गर्दा फाल्गुन कृष्ण एकादशीका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिने पनि संस्थानले जनाएको छ।
तपाईको बिचार