काठमाडौं । विदेशमा रोजगारीको लागि विभिन्न देशमा पठाइदिने लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ठगी अभियोगमा काठमाडौ. महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं महानगरपालिका-३० बस्ने ३८ वर्षीय दीपेश श्रेष्ठ र खोटाङ केपिलासगढी गाउँपालिका-२ बस्ने ४८ वर्षीय मनिराज राईलाई प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
पक्राउ परेकामध्ये सरस्वती श्रेष्ठले जापान पठाउने भन्दै २४ लाख, दीपेश श्रेष्ठले आइसल्याण्ड पठाउने भन्दै १७ लाख तथा मनिराज राईले अल्बानिया पठाउने भन्दै तीन लाख ७० हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
पीडितको उजुरीका आधारमा उनीहरुलाइृ पक्राउ गरिएको कार्कीले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताए ।
तपाईको बिचार