सहकारी ठगहरूलाई तह लगाउने थापाको प्रतिबद्धता - MirrorNepal.com

सहकारी ठगहरूलाई तह लगाउने थापाको प्रतिबद्धता


  • Mirror Nepal ५ फागुन २०८२, बुधबार २१:४६:५१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै देश निर्माणको आफ्नो भिजन प्रस्तुत गरेका छन् । उनले प्रत्येक नेपालीलाई सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनाउन, कृषिमा आत्मनिर्भरता ल्याउन र शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाए।

‘प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौँ। प्रत्येक नेपालीले सपना देख्न पाउने र आफ्नो जीवनकालमा साकार हुनसक्ने बनाउनेछौँ,’ थापाले भने, ‘नेपाललाई हामी छोराछोरीलाई पढाउँदै गर्दा ऋण काढ्नुनपर्ने बनाउनेछौँ। यो नेपाललाई हामी ओखती गर्दैगर्दा डराउन नपर्ने नेपाल बनाउनेछौँ ।’

थापाले मिटरब्याज, लघुवित्त र सहकारीका ठगहरूलाई कठोर कारबाही गर्ने बताएका छन्। उनले भने, ‘हामी मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौँ।’

उनले मधेसको स्वास्थ्य, शिक्षा र खेलकुदका क्षेत्रहरूमा सुधार ल्याउने आफ्नो सपना व्यक्त गर्दै भने, ‘मधेसमा क्रिकेट रङ्गशालालगायतको पूर्वाधारको काम पनि पाँच वर्षभित्र गर्ने छौँ ।’

मधेसका लागि गगन थापाको प्रमुख संकल्प भनेको यहाँको सम्मान र समृद्धि बढाउने हो। उनले भने, ‘म मधेसको नेता हुन होइन, मधेसको बेटा हुन आएको हुँ। मेरो छातीमा दुर्गानन्द झाको सपना छ।”

उनले मधेसलाई केन्द्रित गरेर देशको राष्ट्रपति र प्रधानमन्त्री बन्ने बिचार पनि व्यक्त गरे। ‘अब मधेसकै प्रधानमन्त्री बनाउने हो,’ उनले भने।

स्वास्थ्य बीमा र कृषिमा सुधारका कार्यक्रमहरूको घोषणासमेत गरे। उनले स्वास्थ्य बिमा कार्यक्रमको अधुरो सपना पूरा गर्ने वचन दिँदै भने, ‘उपचार गर्दा एक पैसा खल्तीबाट तिर्न नपर्ने नेपाल बनाउँछौँ ।’

थापाले कांग्रेसको शक्ति घृणा होइन, प्रेम हो भन्ने कुरा स्पष्ट गर्दै भने, ‘कांग्रेसको शक्ति निषेध होइन, सबैलाई समावेश गर्ने हो।’ उनले कुसाशन, गरीबी र बेरोजगारीलाई हटाउनुपर्ने वचन दिए।

सभापति थापाले मधेश क्षेत्रको वित्तीय प्रणाली असन्तुलित बनेको उल्लेख गर्दै सहकारी, मिटरब्याज र लघुवित्तसम्बन्धी समस्यालाई नीतिगत रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनकपुरमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै उनले वित्तीय अनियमिततामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गरिनेसमेत स्पष्ट पारे। साथै मधेशमा दीर्घकालीन सुधारका लागि वैकल्पिक वित्तीय संरचना विकास गर्ने योजना रहेको उनको भनाइ थियो।

उनले मधेशका दलित, अल्पसङ्ख्यक र महिलालगायत समुदायको समावेशी विकासलाई प्राथमिकतामा राख्दै नयाँ दृष्टिकोणसहित अघि बढ्ने बताए। क्षेत्रीय रूपमा लागू औषध दुर्व्यसनको समस्या देखिएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि विशेष कार्यक्रम आवश्यक रहेको उनले औँल्याए।

आगामी पाँच वर्षभित्र खेलकुद पूर्वाधार विस्तारअन्तर्गत क्रिकेट रंगशालासहित अन्य संरचना निर्माण गर्ने लक्ष्यसमेत प्रस्तुत गरिएको उनले बताएका छन्।

तपाईको बिचार

सम्बन्धित खबर