भारत-पाकिस्तानबीच युद्धविराम गरेको ट्रम्पको दाबी झुटो - MirrorNepal.com

भारत-पाकिस्तानबीच युद्धविराम गरेको ट्रम्पको दाबी झुटो


  • Mirror Team ३ असार २०८२, बुधबार १३:३३:४३

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेका छन्। भारतका विदेश सचिव विक्रम मिश्रीले यसको जानकारी दिएका हुन् ।

मिश्रीले भने , “पहलगाम आतंकवादी हमला पछि दुई नेताहरू बीचको यो पहिलो कुराकानी थियो। त्यसैले, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दूरको बारेमा विस्तृत रूपमा कुरा गर्नुभयो।”

विक्रम मिश्रीले भने , “प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई स्पष्ट रूपमा भन्नुभयो कि यो सम्पूर्ण घटनाको क्रममा कुनै पनि तहमा भारत-अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तान बीच अमेरिकाको मध्यस्थता जस्ता मुद्दाहरूमा छलफल भएको छैन।”

मे १० मा डोनाल्ड ट्रम्पले आफ्नो मध्यस्थताका कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको बताएका थिए । त्यतिबेला पनि भारतले कुनै पनि प्रकारको मध्यस्थता गरिएको कुरालाई अस्वीकार गरेको थियो।

“भारत र पाकिस्तानबीच दुई सेनाबीचको विद्यमान च्यानलहरू मार्फत र पाकिस्तानको आग्रहमा सैन्य कारबाही रोक्ने विषयमा प्रत्यक्ष छलफल भएको थियो। भारतले कहिल्यै मध्यस्थता स्वीकार गरेको छैन, गर्दैन र कहिल्यै स्वीकार गर्ने छैन। यस विषयमा भारतमा पूर्ण राजनीतिक एकमत छ,” मोदीको भनाइ उद्धृत गर्दै मिश्रीले भने।

विक्रम मिश्रीले भने, “राष्ट्रपतिले प्रधानमन्त्रीले राखेका बुँदाहरूलाई विस्तृत रूपमा बुझ्नुभयो र आतंकवाद विरुद्धको भारतको लडाईंलाई समर्थन व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले भारतले अब आतंकवादलाई छद्म युद्धको रूपमा नभइ युद्धको रूपमा हेर्ने र भारतको अपरेशन सिन्दूर अझै पनि जारी रहेको बताउनुभयो ।”

तपाईको बिचार