पाकिस्तानमा अचानक आएको बाढीमा बगेर १७ जनाको मृत्यु, धेरै बेपत्ता - MirrorNepal.com

पाकिस्तानमा अचानक आएको बाढीमा बगेर १७ जनाको मृत्यु, धेरै बेपत्ता


काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रको स्वात नदीमा शुक्रबार अचानक आएको बाढीमा १७ जनाको मृत्यु भएको छ भने धेरै बेपत्ता छन्। मृत्यु हुनेमध्ये ९ जना एकै परिवारका थिए।

यसैबीच, बाढीमा ज्यान गुमाएकाहरूको शव फोहोर बोक्ने गाडीमा बोकेर लगेको घटना प्रकाशमा आएको छ। यसप्रति पञ्जाबकी सूचना मन्त्री अज्मा बुखारीले शनिबार पञ्जाब विधानसभामा असन्तुष्टि व्यक्त गरिन्।

उनले भनिन्- ‘उद्धारकर्मीहरूले शवहरू बोक्न फोहोर बोक्ने ट्रकहरू प्रयोग गरेका थिए । यदि तपाईंले तिनीहरूलाई बचाउन सक्नुभएन भने पनि कम्तिमा शवलाई सम्मानका साथ घर पठाउन त सक्नुहुन्थ्यो ।’

जिल्ला प्रशासनका अनुसार शुक्रबार स्वात नदीको किनारमा पिकनिक मनाउन परिवार र आफन्तहरू आएका थिए। मानिसहरू नदीमा तस्बिर खिचिरहेका बेला अचानक बाढी आयो।

उनीहरूका आफन्तहरू उनीहरूलाई बचाउन हतारिए, तर उनीहरू पनि बाढीमा फसे। यी मानिसहरू लगभग ४५ मिनेटसम्म नदीको बीचमा अड्किएका थिए, तर तीव्र धारका कारण उनीहरू नदीमा डुबे। उद्धार टोलीले ९ जनाको शव निकालेको छ भने चार जनाको उद्धार गरिएको छ।

तपाईको बिचार