नेपाल भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा - MirrorNepal.com

नेपाल भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा


काठमाडौं । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई सहजै पराजित गरेको छ। आज सम्पन्न खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराएको हो।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गरेको थियो। नेपालले निर्धारित ५० ओभरको खेलमा रौनक श्रीवास्तवको शतकीय पारीको मद्दतमा पाँच विकेटको क्षतिमा ३५८ रन बनायो। श्रीवास्तवले १६८ रनको योगदान दिए। उनले १३२ बल खेल्ने क्रममा पाँच छक्का र १६ चौका हाने। यस्तै जोय थापाले अविजित ६१, शिवान्स बजगाईँले ५४ तथा सुगम बुढाथोकीले ३५ रन बनाए।

बलिङतर्फ भुटानका सञ्जय दोर्जेले तीन तथा तेन्जिन लोडेले एक विकेट लिए।
३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६० रन बनायो। भुटानका लागि सुजन दावाले १४ तथा उयोग छोफेलले १० रन बनाए। भुटानका अन्तिम ब्याटर क्रिजमा आएनन्।

बलिङतर्फ नेपालका लागि कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए। यस्तै सचिन भट्ट र सुयोग भट्टराईले दुई दुई विकेट लिए।

नेपाल समूह चरणका चारवटै खेलमा विजेता बनेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। उक्त  समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ।

यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपालले अब बिहीबार सेमिफाइनमा मलेसियासँग खेल्ने छ। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

तपाईको बिचार