काठमाडौं । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ मैदानमा भएको पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधिको नजिक पुगेको हो।
मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए। उनले ३५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। शिवांश बजगाईंले अविजित २३ रन जोडे।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती र दबाबपूर्ण बलिङ प्रदर्शन गर्दै मलेसियालाई ४३.१ ओभरमा ९० रनमा अलआउट गरेको थियो।
मलेसियाका मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन, कप्तान दियाज पात्रोले १० रन बनाए। बाँकी ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि अभय यादवले १० ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। शुभम खनालले १० ओभरमा ४ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए। कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए।
नेपाल अब ५ जुलाई (असार २१) मा हुने फाइनलमा हङकङ र सिंगापुरबीचको दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि भिड्नेछ।
तपाईको बिचार