शक्तिशाली भूकम्पमा परि फिलिपिन्समा ६९ जनाको मृत्यु - MirrorNepal.com

शक्तिशाली भूकम्पमा परि फिलिपिन्समा ६९ जनाको मृत्यु


काठमाडौं । फिलिपिन्सको मध्य प्रान्तमा आएको शक्तिशाली भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । मङ्गलबार राति गएको यस भूकम्पमा धेरै मानिसको ज्यान गएको छ ।

६.९ रेक्टर स्केलको यो भूकम्प राति करिब १० बजे गएको थियो । बोगो सहर र सेबू प्रान्तका आसपासका गाउँहरूमामा घर, नाइट क्लब र अन्य व्यापारिक भवनहरू भत्किँदा कति मानिस फसेका छन् भन्ने निश्चित नभएको अधिकारीहरूले जनाएका छन् ।

सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरूलाई ब्याकहो र कुकुरसहित उद्धारमा परिचालन गरिएको छ । भूकम्पको केन्द्र समुद्रभित्रको फॉल्ट लाइनमा भएको गतिविधिका कारण ५ किलोमिटरको गहिराइमा थियो ।

यो बोगो सहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो । करिब ९० हजार जनसंख्या भएको यो तटीय सहरमा मात्रै आधा जति मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले समाचार लेखेको छ ।

बोगोमा मृत्युको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । लगातारको वर्षा र भाँचिएका पुल तथा बाटोहरूले उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।

‘हामी अझै उद्धारको ‘सुनौलो घडी’मा छौँ,’ नागरिक सुरक्षा कार्यालयका उप–प्रशासक बेर्नार्डो राफेलिटो एलेजान्द्रो चौथाले भनेका छन्, ‘अझै धेरै मानिस ढुंगामाटो र भग्नावशेषले थिचिएका वा चोट पाएका रिपोर्टहरू आएका छन् ।’

फिलिपिन्स सरकारले प्रारम्भिक क्षतिको मूल्यांकनपछि विदेशी सहायता माग्ने विषयमा विचार भइरहेको पनि एलेजान्द्रोले जनाए । अर्का अधिकारी ग्लेन उर्सालका अनुसार उक्त क्षेत्रमा खतरा भएकाले जानै गाह्रो छ ।

यो भूकम्प पछिल्लो दशकमा मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशालीमध्ये एक हो । धेरै मानिस त्यतिबेला घरमै वा निदाइरहेका बेला भूकम्प आएको थियो । भूकम्प प्रभावित सहर–गाउँका विद्यालय र सरकारी कार्यालयहरू बन्द गरिएका छन् । भवनहरूको सुरक्षा जाँच भइरहेको छ ।

मंगलबार रातिको भूकम्पपछि हालसम्म ६ सयभन्दा बढी पराकम्प आएको संस्थाका निर्देशक तेरेसितो बाकोलकोलले जनाएका छन् । फिलिपिन्स विश्वकै सबैभन्दा बढी विपद्–प्रवण मुलुकमध्ये एक हो । यो देश प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा पर्ने भएकाले बारम्बार भूकम्प र ज्वालामुखी विस्फोटको जोखिममा रहन्छ । -एजेन्सी

तपाईको बिचार