भारत–चीनबिच हवाई उडान अक्टोबर २६ देखि सुरु हुने - MirrorNepal.com

भारत–चीनबिच हवाई उडान अक्टोबर २६ देखि सुरु हुने


काठमाडौं । भारत र चीनबीच सिधा उडान सुरु गर्न सहमति भएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यसको घोषणा गरेको हो । यसको केही बेरमै इन्डियन एयरलाइन्सले अक्टोबर २६ देखि दुई देशबीच सिधा उडान पुनः सुरु गर्ने घोषणा गरेको छ ।

कोलकाताबाट ग्वाङ्झुका लागि दैनिक नन–स्टप उडानहरू सञ्चालन हुनेछन् । एयरलाइनले चाँडै नै दिल्ली–ग्वाङ्झुबीच पनि सिधा उडान सुरु गरिने जानकारी दिएको छ । यी उडानका लागि इन्डिगोले आफ्नो एयरबस ए३२० नियो विमान प्रयोग गर्नेछ ।

यसैगरी, एअर इन्डियाले पनि यस वर्षको अन्त्यसम्म भारत–चीन सिधा उडान सुरु गर्ने बताएको छ ।

भारत–चीनबीचको हवाई सेवा सन् २०२० मा कोरोना महामारीका कारण बन्द गरिएको थियो । त्यसपछि गलवान झडपका कारण दुई देशबीचको सम्बन्ध थप बिग्रिएको थियो । परराष्ट्र मन्त्रालयले यो निर्णयलाई भारत–चीन सम्बन्धलाई विस्तारै सामान्य बनाउने दिशामा एक ठूलो कदम भएको बताएको छ ।

यी उडानहरू जाडोको तालिकाअनुसार सञ्चालन हुनेछन् । तर, यो दुवै देशका एयरलाइन्सहरूको तयारी र आवश्यक नियम पूरा गर्ने प्रक्रियामा निर्भर गर्नेछ । धेरै महिनाको छलफलपछि दुई देशका हवाई सेवा अधिकारीहरूले अक्टोबर २०२५ को अन्त्यदेखि सिधा उडान सुरु गर्ने निर्णय गरेका हुन् ।

कोभिड महामारीपछि भारत–चीनका यात्रुहरू थाइल्यान्ड, सिंगापुर वा मलेसिया जस्ता तेस्रो देशमार्फत यात्रा गर्दै आएका थिए । यसले यात्राको समय र खर्च दुवै बढाएको थियो ।

हालका केही वर्षमा, विशेषगरी २०२५ को सुरुआतदेखि भारत र चीनले सम्बन्ध सामान्यीकरणतर्फ कदम चालेका छन् । अमेरिकी ट्यारिफ वारले पनि दुवै देशलाई नजिक ल्याउन मद्दत गरेको छ ।

फ्लाइट टिकट बुकिङ वेबसाइट गोइबिबोका अनुसार हाल दिल्ली–बेइजिङ (एकतर्फी) उडानको न्यूनतम भाडा २० हजार रुपैयाँ छ भने राउन्ड–ट्रिप भाडा ३५ हजार रुपैयाँसम्म पुग्छ । सिधा उडान सुरु भएपछि भाडा १५–२० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ ।

कोरोना महामारीअघि भारत र चीनबीच महिनामा ५३९ सिधा उडान हुने गर्थे, जसको कुल क्षमता १.२५ लाख सिटभन्दा बढी थियो । ती उडानमा एअर इन्डिया, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सलगायतका कम्पनीहरू संलग्न थिए ।

उडान सेवा निलम्बित भएपछि दुई देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्यान्ड र सिंगापुर जस्ता कनेक्टिङ हबमार्फत यात्रा गर्न बाध्य भएका थिए, जसले खर्च बढाएको थियो ।

एयर ट्राफिक तथ्यांक दिने कम्पनी सिरियमका अनुसार जनवरी–अक्टोबर २०२४ बीच भारत–चीन यात्रु संख्या ४.६ लाख थियो । जबकि २०१९ को पहिलो १० महिनामा यो १० लाख थियो । जनवरी–अक्टोबर २०२४ बीच हङकङमार्फत १.७३ लाख, सिंगापुरमार्फत ९८ हजार, थाइल्यान्डमार्फत ९३ हजार र बंगलादेशमार्फत ३० हजार मानिसले दुई देशबीच यात्रा गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले गत वर्ष अक्टोबरमा पाँच वर्षपछि कजानमा भेट गरेका थिए । त्यसबेला दुवै नेताले आपसी सम्बन्धबारे छलफल गर्दै सुधारका लागि कदम चाल्ने सहमति जनाएका थिए ।

यसपछि पछिल्ला तीन महिनामा चीन–भारत सीमाको विवादित इलाका डेमचोक र देप्साङबाट सेनाहरू पछाडि हटेपछि कैलाश मानसरोवर यात्रा र फ्लाइट सेवा सुरु गर्ने जस्ता निर्णयहरू भएका छन् ।

तपाईको बिचार