काठमाडौं । निकै अपेक्षा, ठूलो प्रचार र राजनीतिक सन्देश बोकेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले बक्सअफिसमा भने अपेक्षित उडान भर्न सकेन। २२ दिनसम्म देशभरबाट फिल्मले १ करोड १२ लाख ३८ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ।
सिनेपाः बक्सअफिसले सार्वजनिक गरेको विवरणअनुसार, पछिल्लो शनिबारसम्म फिल्मले ३५ हजार ८४२ टिकट मात्र बिक्री गरेको छ। सुरुवाती हाइपअनुसार यो संख्या निकै कम मानिएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उनी निकट टिमले गरेको व्यापक प्रचार–प्रसार, सामाजिक सञ्जालदेखि सार्वजनिक चर्चासम्म पुगे पनि त्यसको प्रभाव बक्सअफिसमा देखिन सकेन।
अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्म भ्रष्टाचार र बेथितीविरुद्ध युवापुस्ताले थालेको संघर्षमा केन्द्रित छ। विषय गम्भीर र समसामयिक भए पनि दर्शक तान्न भने फिल्मलाई गाह्रो परिरहेको देखिन्छ।
यो फिल्ममार्फत पाका अभिनेता गणेश उप्रेती लामो समयपछि पर्दामा फर्किएका छन्।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य लगायत कलाकारको मुख्य अभिनय रहेको छ। यसै फिल्ममार्फत विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् भने बालकलाकार दिप्सन चिलवाल पनि महत्वपूर्ण भूमिकामा देखिएका छन्।
सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिएका छन्।
निर्देशक अर्जुन घिमिरे स्वयंको कथामा बनेको यस सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्।
छायांकन बुद्ध थापाले गरेका छन्।
फिल्मकी निर्मात्री अनिशा सेन्दाङ लिम्बू हुन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सहनिर्माताका रूपमा रहेका छन्।
तपाईको बिचार