टर्कीको संसद्‌मा सत्तारूढ र विपक्षी दलका सांसदबिच झडप - MirrorNepal.com

टर्कीको संसद्‌मा सत्तारूढ र विपक्षी दलका सांसदबिच झडप


काठमाडौँ। टर्कीको संसद्‌मा बुधबार सत्तारूढ र विपक्षी दलका सांसदबीच कुटाकुट भएको छ । न्याय मन्त्रालयको जिम्मेवारी विवादास्पद व्यक्तिलाई दिइएको विषयमा विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको हो ।

विपक्षी सांसदहरूले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्यायमन्त्री नियुक्त गरेका इस्तानबुलका पूर्वमुख्य अभियोजक अकिन गुरलेकलाई संसद्‌मा शपथ लिनबाट रोक्ने प्रयास गरेका थिए । त्यस क्रममा दुवै पक्षबीच धकेलाधकेल र मुक्कामुक्की भएको दृश्य सार्वजनिक भएको छ ।

गुरलेकले इस्तानबुलका मुख्य अभियोजक रहँदा मुख्य विपक्षी रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यविरुद्ध मुद्दा चलाएका थिए । ती मुद्दा राजनीतिक प्रेरित भएको आरोप विपक्षीले लगाउँदै आएको छ । झडपका बीच सत्तारूढ दलका सांसदहरूले गुरलेकलाई घेरेर शपथ गराएका थिए ।

यसैबीच एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन् । मन्त्रिपरिषद् फेरबदलको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन । सरकारी राजपत्रमा बाहिरिएका मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरेको उल्लेख छ ।

सीएचपी नेतृत्वका नगरपालिकामा कार्यरत सयौँ अधिकारीलाई भ्रष्टाचार अनुसन्धानका क्रममा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इस्तानबुलका मेयर एकरेम इमामोग्लु पनि छन्, जसलाई एर्दोगानको प्रमुख प्रतिस्पर्धी मानिन्छ । उनलाई गत वर्ष पक्राउ गरिएको थियो ।

सरकारले न्यायपालिका स्वतन्त्र रूपमा काम गरिरहेको दाबी गर्दै आएको छ । सम्भावित संवैधानिक सुधारबारे बहस चलिरहेका बेला यी नियुक्ति गरिएको हो । दशकौँदेखिको द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्ति पहल अघि बढाइएको छ । -एजेन्सी

तपाईको बिचार