काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन्। शुक्रबार शाह हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल क्षेत्र पुगेका थिए।
पूर्वराजा शाहको स्वागतका लागि उनका समर्थकहरू विमानस्थल बाहिर भेला भएका छन् । विभिन्न नारासहित उनीहरू बिहानैदेखि विमानस्थल गेट क्षेत्रमा बसेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं पनि विमानस्थल पुगेका छन् । समर्थकहरूलाई बाहिरै राखेर उनी भित्र प्रवेश गरेका हुन्। पूर्वराजा शाहलाई स्वागत गरी बाहिर ल्याउने तयारीमा आफू लागेको उनले समर्थकहरूलाई बताएका छन्।
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउँदैछन् । उनलाई विमानस्थलबाट निर्मल निवाससम्म लैजाने तयारी गरिएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ। विमानस्थलदेखि निर्मल निवाससम्मका मुख्य मार्गमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको छ। काठमाडौंका विभिन्न चोकमा प्रहरी तैनाथ गरिएको छ ।
विमानस्थल आसपास प्रशासनले निषेधाज्ञा जारी गरे पनि राजावादी समूहका समर्थकहरू गेट क्षेत्रमा जम्मा भएका छन्। प्रहरीले उनीहरूलाई विमानस्थल बाहिरै रोकेर राखेको छ ।
समर्थकहरूको नाराबाजीका कारण विमानस्थलतर्फ जाने यात्रुहरूलाई आवतजावतमा असहजता भएको जनाइएको छ। राप्रपा लगायत राजावादी समूहले स्वागतको तयारी गरेका छन् ।
तपाईको बिचार