देशलाई मैले र माधव नेपालले जोगाएका हौं : प्रचण्ड - MirrorNepal.com

देशलाई मैले र माधव नेपालले जोगाएका हौं : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलन लगत्तै आफू र सह-संयोजक माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको बताएका छन् ।

प्रचण्डले बागलुङको बुर्तिबाङमा आयोजित चुनाबी कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । कार्यकर्तासँगको संवादमा बोल्दै प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव नै विकल्पको रूपमा देखिएकाले आफूहरूले सहजीकरण गरेको बताए ।

सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्नेमात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी छ । साथै उनले राष्ट्र ठूलो संकटमा परेको नजिकबाट नियालेको पनि बताए ।

‘त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो । म र माधव नेपालले सहजीकरण ग-यौँ । हामीले विवेक नपु-याएको भए झन ठूलो क्षति हुनेवाला थियो । त्यो बेला जलाउने, लुट्ने त थियो नांगो आँखाले देख्यौँ । संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो भन्ने हामीले थाहा पायौँ । त्यो सफल भएको भए अझ दुर्घटना हुन्थ्यो, त्यसबाट बचाउन हामीले सहजीकरण ग-यौँ,’ उनले भने ।

उनले संविधान बचाउन सफल भए पनि केही भने घाइते भएको बताए । साथै राष्ट्रपति संस्था बचाउन सकिएको प्रचण्डले सुनाए । सुरूमा यो चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भएपनि अब पूरै मुलुक र जनता चुनावमा होमिएको प्रचण्डको भनाइ छ ।

उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पफ्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गरे। उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए।

तपाईको बिचार