काठमाडौं । मकवानपुर–१ को बकैया गाउँपालिका वडा नम्बर–४ जुरेली (माझी गाउँ) का सम्पूर्ण स्थानीय एकैसाथ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उक्त्त क्षेत्रमा नेकपाका विजय गौतम उम्मेदवार छन् ।
पूरै माझी गाउँ नै संगठित रूपमा नेकपामा प्रवेश गर्दै आफ्नै गाउँका युवा उम्मेदवार गौतमलाई जिताउने सामूहिक प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गाउँ नै एकैसाथ नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि यस घटनालाई जिल्लाकै ठूलो राजनीतिक झट्काको रूपमा हेरिएको छ । स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशले उम्मेदवार गौतमको जिततर्फको यात्रालाई थप बलियो बनाएको चर्चा छ ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै गौतमले भावुक तर दृढ स्वरमा आफू पहिलोपटक चुनावी मैदानमा आएको र राम्रो काम गर्ने प्रतिबद्धताका साथ अघि बढेको बताए ।
‘म पहिलोपटक आएको हुँ, राम्रो गर्न आएको हुँ । तपाईंहरूले दिनुभएको भरोसा मन, वचन र कर्मले टुट्न दिने छैन । जति काम गर्छु, शिर उचो हुने गरी गर्छु । तपाईंहरूबाट टाढाको होइन, फोन गर्दा भेटिने, ढोका ढकढक गर्दा निस्किने प्रतिनिधि बनेर काम गर्छु,’ उनले भने ।
गौतमले शिक्षा, रोजगारी, ढल–शौचालय, खेलमैदान, बाढी–पहिरो नियन्त्रणलगायत स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्याउने भरिया बनेर काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र समूहबाट समेत करिब सयको संख्यामा नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेका जनाइएको छ । यस घटनापछि मकवानपुर–१ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ ।
यो क्षेत्रमा नेपाली कांग्रेसबाट महालक्ष्मी उपाध्यय (डिना), नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रामेश्वर राना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश गौतम, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट तेजप्रसाद उप्रेती, श्रम संस्कृति पार्टीबाट विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीबाट सुरेन्द्र लामा चुनावी मैदान छन् ।
नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट महेश नेपाली, जनता समाजवादी पार्टी नेपालबाट रूपक लामा, जनता समाजवादी पार्टीबाट दीपक सिंतान र मङ्गोल नेशनल अर्गनाइजेशनबाट युवराज लामा चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र रूपमा राकेशकुमार शर्मा, अमिक परियार, राजाराम बोगटी, मठु पुलामीमगर, अमर दङ्गाल, टीकाप्रसाद चौलागाईं, सुशीला सुवेदी, ज्ञान सागर लामा र राजकुमार खड्का चुनावी प्रतिस्पर्धामा छन् ।
तपाईको बिचार