फेक स्ट्याम्पका कारण पोर्चुगलमा २००० नेपाली संकटमा - MirrorNepal.com

फेक स्ट्याम्पका कारण पोर्चुगलमा २००० नेपाली संकटमा


  • Mirror Nepal २ फागुन २०८२, आइतबार १३:५१:१४

काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण (फेक स्ट्याम्प) प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग भएको पुष्टि भएपछि उनीहरू कानुनी अप्ठ्यारोमा परेका हुन् ।

नक्कली स्ट्याम्प प्रयोग गरेको पुष्टि भएपछि नेपालीहरूको अस्थायी आवासीय अनुमति (टीआरसी) प्रक्रिया रोकिएको छ भने उनीहरू ‘डिपोर्टेसन’ को त्रासमा समेत छन् ।

पोर्चुगलमा रहेका आप्रवासीलाई कानुनी हैसियत दिने अधिकारसम्पन्न निकाय ‘एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय (एआईएमए) ले टीआरसीको आवेदन मूल्यांकन गर्ने क्रममा प्रहरी रिपोर्टमा लगाइएको प्रमाणीकरण छाप नक्कली ठहर गर्दै आप्रवासन प्रणालीको दुरुपयोग’ भएको निष्कर्ष निकालेको छ ।

प्रकरणमा संलग्न पाइएका सयौं नेपालीलाई एआईएमएले इमेलमार्फत निश्चित समयसीमाभित्र देश छाड्न निर्देशनसमेत दिएको छ । सम्पर्कमा आएका एक नेपालीका अनुसार केही इमेलमा एक वर्षसम्मको जेल सजाय र निष्कासन (डिपोर्टेसन) को चेतावनीसमेत दिइएको छ ।

एआईएमएले इमेल पठाउन थालेपछि पीडितहरू पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेका छन् । दूतावासका अनुसार झन्डै १२ सय ५० जनाको सक्कली प्रहरी रिपोर्टमा दिल्लीस्थित पोर्चुगल दूतावासको नक्कली छाप प्रयोग गरिएको पाइएको छ ।

राजदूत प्रकाशमणि पौडेलले दूतावासको सम्पर्कमा आउने पीडितहरू दिनहुँ बढिरहेको बताए । पौडेलले भने – ‘लिखित रूपमा ८५० जनाको परेको थियो । इमेलबाट पनि चार सय जनाको उजुरी आयो,’ पौडेलले भने, ‘दूतावासले आवश्यक सहजीकरणका लागि १२ सय ५० जनाको नामसहित एआईएमएमा बुझाएका छौं ।’ राजदूत पौडेलका अनुसार यो संख्या दुई हजार जनासम्म पुग्न सक्छ ।

तपाईको बिचार