होली पर्वमा सभा र चुनावी प्रचार सामग्री प्रयोगमा रोक - MirrorNepal.com

होली पर्वमा सभा र चुनावी प्रचार सामग्री प्रयोगमा रोक


काठमाडौं । फागूपूर्णिमा अर्थात होलीपर्वलाई मर्यादित, अनुशासित र सुरक्षित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक अपिल जारी गर्दै खुला सडक तथा सार्वजनिक स्थलमा भेला हुन र चुनावी प्रचार सामग्री प्रयोग गर्न रोक लगाएको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा लेखिएको छ: ‘खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ ।’

होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ । प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ ।

होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

तपाईको बिचार